जापानमा बसोबास गर्ने नेपाली समुदायलाई लक्षित गर्दै “डाइनामिक फ्रेन्ड्स” नामक ऋण सेवा प्रदान गर्ने वित्तीय संस्था औपचारिक रूपमा सञ्चालनमा आएको छ। कम्पनीले जापानमा रहेका नेपालीहरूलाई सहज, सुरक्षित तथा विश्वासनीय वित्तीय सेवा उपलब्ध गराउने उद्देश्य राखेको छ।
कम्पनीले धितो रहित तथा धितो सहित व्यक्तिगत तथा व्यवसायिक कर्जा सेवा प्रदान गर्ने जनाएको छ। हाल जापानमा बसोबास गर्ने धेरै नेपालीहरू आकस्मिक खर्च, अध्ययन शुल्क, व्यवसाय विस्तार तथा पारिवारिक सहयोगजस्ता विभिन्न आर्थिक आवश्यकताहरूका लागि संघर्षरत रहेका छन्। यस्ता आवश्यकतालाई मध्यनजर गर्दै कम्पनीले सरल प्रक्रिया, छिटो सेवा र पारदर्शी व्यवस्थापनमार्फत ऋण सुविधा उपलब्ध गराउने योजना बनाएको छ।
कम्पनीका अनुसार, यो संस्था केवल ऋण प्रदान गर्ने माध्यम मात्र नभई नेपाली समुदायलाई आर्थिक रूपमा सशक्त बनाउने एक महत्वपूर्ण पहल हो। पारदर्शिता, कानुनी मापदण्डको पालना तथा ग्राहकप्रतिको उत्तरदायित्वलाई केन्द्रमा राखेर सेवा प्रवाह गरिने जनाइएको छ।
विद्यार्थी, कामदार तथा साना व्यवसायीहरूले आवश्यक प्रक्रिया पूरा गरी सहज रूपमा कर्जा लिन सक्ने व्यवस्था मिलाइएको कम्पनीले जनाएको छ। साथै, ग्राहकहरूको व्यक्तिगत विवरणको सुरक्षा र गोपनीयतालाई उच्च प्राथमिकता दिइनेछ।
भविष्यमा थप वित्तीय सेवा विस्तार गर्दै लैजाने योजना रहेको कम्पनीले जनाएको छ। जापानमा नेपाली समुदाय निरन्तर बढ्दो क्रममा रहेको र विभिन्न क्षेत्रमा सक्रिय रूपमा संलग्न भइरहेको अवस्थामा नेपाली लगानीकर्ताहरूको यस्तो पहललाई प्रेरणादायी कदमका रूपमा हेरिएको छ।
जापानमा नेपालीहरूको लगानीमा स्थापना भएको यो पहिलो ऋण प्रदायक वित्तीय संस्था भएको दाबी गरिएको छ। लामो समयदेखि जापानमा बसोबास गर्दै आएका २५ जना नेपालीहरूको संयुक्त प्रयासबाट सञ्चालनमा ल्याइएको यस संस्थाका प्रबन्ध निर्देशक दिनेश सिलवालले जानकारी दिनुभयो।
जापानमा रहेका नेपालीहरूको आर्थिक जीवनलाई अझ सुदृढ बनाउने विश्वास लिइएको कम्पनीको प्रधान कार्यालय चिवाको इचिकावामा रहेको छ।
(2).gif)
