प्रवासमा रहेर पनि मातृभूमिमा आइपरेको विपत्तिमा सहयोग गर्ने उद्देश्यसहित गलकोट समाज जापान, टोकियो क्षेत्रीय समितिले तिज सांगीतिक उत्सवको टिकटबाट संकलित सम्पुर्ण रकम रसुवा बाढीपीडितका लागि सहयोग गर्ने घोषणा गरेको छ।
गलकोट समाज जापान टोकियो क्षेत्रीय समितिका अध्यक्ष तथा तिज सांगीतिक उत्सवका सभाध्यक्ष ईश्वर बस्नेतका अनुसार, कार्यक्रममा सहभागी दर्शकबाट सोईच्छा प्रदान गर्नु भएको रकम ¥३०१११ तथा टिकट खरिदमार्फत ¥ ४८८००० गरि संकलित सम्पूर्ण ¥५,१८,१११ येन रसुवा बाढीपीडितका लागि सहयोग गरिने भएको छ।
देशमा आएको प्राकृतिक विपत्तिका कारण रसुवा जिल्लामा ठूलो जनधनको क्षति भएको र सयौँ परिवार प्रभावित भएको अवस्थामा संस्थाले विगत लामो समय देखि आयोजना गर्दै आएको तिज विशेष कार्यक्रमलाई यसपटक थप सामाजिक उत्तरदायित्वसँग जोड्दै विपत्तिबाट प्रभावित क्षेत्रको वास्तविक आवश्यकता पहिचान गरी उक्त रकम सबैभन्दा बढी प्रभावित क्षेत्रमा राहत तथा आवश्यक सहयोगका लागि हस्तान्तरण गरिने अध्यक्ष बस्नेतले जानकारी दिए।
संस्थाका लागि तिज केवल सांस्कृतिक उत्सव र मनोरञ्जनको अवसर मात्र नभई दुःखमा परेका नेपालीसँग हातेमालो गर्ने अवसर पनि भएको कार्यक्रम संयोजक गोम बुडाथोकीको भनाइ छ। कार्यक्रमको टिकट खरिद गरेर सहयोग गर्ने प्रत्येक दर्शकको योगदानलाई रसुवा बाढीपीडितको राहतसँग जोडिएको संयोजक बुढाथोकीले बताए।
कार्यक्रममा सहभागी दर्शक, कलाकार, सहयोगदाता तथा शुभेच्छुकहरूको योगदानप्रति आभार व्यक्त गर्दै समाजले “मनोरञ्जनसँगै मानवता र सामाजिक उत्तरदायित्व”लाई प्राथमिकतामा राखिएको सचिव चतुर्भुज सापकोटाले बताए।
तिजको अवसरमा आयोजना गरिएको सांगीतिक कार्यक्रममा नेपाली कला, संस्कृति र परम्पराको उत्सवसँगै मानवीय सेवाको सन्देशसमेत प्रवाह भएको विश्वास लिएको बताउदै रसुवा बाढीपीडितका लागि गरिने उक्त सहयोगले विपत्तिमा परेका परिवारलाई राहत पुग्नुका साथै प्रवासमा रहेका नेपाली समुदायको मातृभूमिप्रतिको जिम्मेवारी र मानवीय भावनालाई समेत थप मजबुत बनाउने विश्वास गरिएको सचिव सापकोटाको भनाई छ।
गलकोट समाज जापानले आगामी दिनमा पनि सामाजिक तथा मानवीय सेवाका क्षेत्रमा आफ्नो सक्रियता निरन्तर अघि बढाउने प्रतिबद्धता जनाएको छ।



(2).gif)
