नेपाली महिलाहरूको महान् पर्व हरितालिका तीजको अवसरमा जापानका चार शहरमा विशेष सांस्कृतिक कार्यक्रम आयोजना हुने भएका छन्। बीजेएन इन्टरनेशनलको ब्यानरमा टोकियो, सिजुओका, ओसाका र नागोयामा आयोजना हुने यी कार्यक्रम तीजको सांस्कृतिक उत्सवसँगै रसुवा बाढीपीडितलाई सहयोग गर्ने उद्देश्यमा केन्द्रित रहनेछन्।
बीजेएन इन्टरनेशनलका दीपक खत्रीका अनुसार चारवटै कार्यक्रम बीजेएन इन्टरनेशनलको ब्यानरमा समेटिए पनि सम्बन्धित शहरको कार्यक्रम भने त्यहाँका स्थानीय आयोजक संस्था वा समूहले आयोजना गर्नेछन्। प्रत्येक शहरमा स्थानीय आयोजक फरक–फरक रहेका छन् भने बीजेएन इन्टरनेशनलले कलाकार व्यवस्थापन तथा कार्यक्रम समन्वयको जिम्मेवारी निर्वाह गरेको छ।
कार्यक्रम आयोजकहरूका अनुसार तीजको मनोरञ्जन र सांस्कृतिक प्रस्तुतिसँगै विपत्तिमा परेका नेपाली परिवारलाई सहयोग पुर्याउने उद्देश्यले अभियान अघि बढाइएको हो। टिकटबाट संकलित रकम रसुवा बाढीपीडितलाई हस्तान्तरण गरिनेछ। कार्यक्रम सुरु हुनुअघि बाढीपहिरो तथा विपत्तिमा ज्यान गुमाएकाहरूको सम्झनामा दुई मिनेट मौनधारणसमेत गरिनेछ।
टोकियोमा ‘तीज विशेष सहयोग अभियान–२०२६’
चार शहरमा हुने कार्यक्रमको सुरुआत सेप्टेम्बर १० तारिख बिहिवार टोकियोबाट हुनेछ। गल्कोट समाज जापान, क्षेत्रीय समिति टोकियोको आयोजना तथा सिटी एक्सप्रेसको प्रस्तुतिमा नाकानो जिरो हलमा ‘तीज विशेष सहयोग अभियान–२०२६’ आयोजना हुनेछ।
कार्यक्रममा देवी घर्ती मगर, टिका सानु, रामजी खाँड, शान्ति श्री परियार र ज्योती लोहनीले प्रस्तुति दिनेछन्। प्रवेश शुल्क २ हजार जापानी येन तोकिएको छ। टिकट बिक्रीबाट संकलित सम्पूर्ण रकम रसुवा बाढीपीडितका लागि हस्तान्तरण गरिने आयोजकले जनाएको छ।
सिजुओकामा दुई संस्थाको संयुक्त आयोजना
सेप्टेम्बर ११ तारिख शुक्रबार सिजुओकामा तीज महोत्सव आयोजना हुनेछ। गल्कोट समाज शिजुओका र स्याङ्जा समाज शिजुओकाको संयुक्त आयोजनामा हुने कार्यक्रम आइसेल–२१ मा हुनेछ।
कार्यक्रम दिउँसो ४ बजेबाट सुरु हुने आयोजकले जनाएका छन्। कार्यक्रममा देवी घर्ती मगर, टिका सानु, रामजी खाँड र रेशम सुनारले प्रस्तुति दिनेछन्। बाढीपीडित राहत तथा विपद् व्यवस्थापनमा सहयोग गर्ने उद्देश्यसहित आयोजना हुने कार्यक्रमलाई आयोजकले संस्कृति, परम्परा र एकताको उत्सवका रूपमा अघि सारेका छन्।
सिजुओकाको कार्यक्रमसम्बन्धी थप जानकारीका लागि खिमा खत्रीको ०७०–३८२४–९८०४, चामु कुमारी थापाको ०८०–५२५१–६४८८, अर्जुनजंग बस्न्यातको ०८०–३६८७–९६२४ तथा फुजी हलाल एन्ड बुटिकको ०८०–४५२०–१३७७ मा सम्पर्क गर्न सकिनेछ।
ओसाकामा नवलपुर समाजको तीज महोत्सव
सेप्टेम्बर १२ तारिख शनिबार ओसाकामा ‘तीज महोत्सव ओसाका–२०२६’ आयोजना हुनेछ। नवलपुर समाज जापान, कान्साईको आयोजनामा आबेनो कुमिन सेन्टरमा साँझ ४ बजेबाट सुरु हुने कार्यक्रममा देवी घर्ती, टिका सानु, रामजी खाँड, कुलबीर थापा र रबिन देवकोटाले प्रस्तुति दिनेछन्।
कार्यक्रममा सहभागी हुन २ हजार जापानी येनको टिकट व्यवस्था गरिएको छ। आबेनो स्टेसनबाट करिब ६ मिनेटको दूरीमा रहेको आबेनो कुमिन सेन्टरमा कार्यक्रम आयोजना हुनेछ।
ओसाका कार्यक्रमका लागि थप जानकारी तथा टिकट बुकिङ गर्न समुद्र पौडेलको ०८०–२७३१–६१७३, शंकर भुसालको ०८०–७९८५–७५७०, कृष्ण भुसालको ०८०–४२७३–६९३२ तथा दीपक खत्रीको ०८०–९५१२–६११९ मा सम्पर्क गर्न सकिनेछ।
नागोयामा तीज मेला, स्थानीय कलाकारलाई प्रतिभा देखाउने अवसर
चार शहरमा आयोजना हुने कार्यक्रमअन्तर्गत अन्तिम कार्यक्रम सेप्टेम्बर १३ तारिख आईतबार नागोयामा हुनेछ। दाजुभाइ इभेन्ट्सको प्रस्तुतिमा नागोया अन्तर्राष्ट्रिय केन्द्रमा ‘नागोया तीज मेला–२०२६’ आयोजना हुनेछ। कार्यक्रम साँझ ६ बजेबाट सुरु हुनेछ।
नागोयामा बसोबास गर्ने नेपाली दाजुभाइ तथा दिदीबहिनीका साथै स्थानीय नृत्यांगना, गायक र कलाकारहरूलाई पनि आफ्नो प्रतिभा प्रस्तुत गर्ने अवसर प्रदान गरिने आयोजकले जनाएको छ। कार्यक्रममा प्रस्तुति दिन इच्छुक कलाकारहरूले आयोजकसँग सम्पर्क गरी आफ्नो प्रस्तुति बुकिङ गराउन सक्नेछन्।
नागोया तीज मेलामा देवी घर्ती, टिका सानु, रामजी खाँड, कुलबीर थापा र रबिन देवकोटाले प्रस्तुति दिनेछन्। कार्यक्रममा सहभागी हुन २ हजार जापानी येनको टिकट व्यवस्था गरिएको छ।
कार्यक्रम नागोया अन्तर्राष्ट्रिय केन्द्रमा, कोकुसाई सेन्टर स्टेसनको बाहिरिने द्वार नम्बर २ नजिकै आयोजना हुनेछ। टिकट खरिद, टिकट बुकिङ तथा प्रस्तुति बुकिङका लागि विवेक कँडेलको ०८०–३७७९–६०२६, दीपक केसीको ०८०–९५११–६११९, रबिन देवकोटाको ०८०–४३००–१५१६ तथा गुरुदेव कँडेलको ०८०–९१२२–०७०५ मा सम्पर्क गर्न सकिनेछ।
तीज मनाऔँ, दुःखमा साथ दिऔँ
आयोजकहरूले जापानमा रहेका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीलाई कार्यक्रममा सहभागी भई तीजको सांस्कृतिक उत्सव मनाउन र रसुवा बाढीपीडित सहयोग अभियानमा साथ दिन आग्रह गरेका छन्। हरियो चुरा, पोते तथा नेपाली सांस्कृतिक पहिरनमा सहभागी हुँदै विपत्तिमा परेका परिवारलाई सहयोग गर्न उनीहरूले आह्वान गरेका छन्।
बीजेएन इन्टरनेशनलको समन्वय तथा सम्बन्धित शहरका स्थानीय संस्था र समूहहरूको आयोजनामा हुने यी कार्यक्रमहरूले जापानस्थित नेपाली समुदायको सांस्कृतिक एकता, सहकार्य र सामाजिक उत्तरदायित्वलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ।
(2).gif)
