नेपाली कांग्रेसले आजबाट वडा अधिवेशन प्रारम्भ गरेर १४ औं महाधिवेशन प्रक्रिया थाल्दैछ । सबैभन्दा तल्लो तहको संरचनाअन्तर्गत पर्ने वडा तहको अधिवेशन २३ गतेभित्र सक्ने तयारी छ ।
तर सबै जिल्लाका क्रियाशील सदस्यताको सूची सार्वजनिक नभएकाले चरणबद्ध वडा अधिवेशनमा जुटेको हो । सदस्यता सार्वजनिक गर्न बाँकी र केन्द्रीय निर्वाचन अधिकृत तोक्न बाँकी रहेका जिल्लामा अधिवेशन विस्तारै हुँदै जाने मुख्य सचिव कृष्णचन्द्र पौडेलले जानकारी दिए ।
कांग्रेसले आज करिब ४० जिल्लामा वडा अधिवेशन गर्दैछ । सहमति नभएका वडामा मतदान गर्ने र मतदान सकिएलगत्तै गणना गर्नुपर्ने कांग्रेसको निर्देशिकामा उल्लेख छ । सबैभन्दा बढी मत पाउने उम्मेदवार निर्वाचित हुनेछन् । कांग्रेसले हालसम्म ६३ जिल्लाका क्रियाशील सदस्यहरूको नामावली पार्टीको वेबसाइटमा प्रकाशित गरेको छ ।
कांग्रेसले समावेशी समूहको वडा कार्यसमिति सदस्य वा क्षेत्रीय प्रतिनिधि नहुने अवस्था विद्यमान भएमा सो समूहबाट एक जना वडा कार्यसमिति सदस्य र एक जना क्षेत्रीय प्रतिनिधि थप व्यवस्था गर्ने निर्णय गरेको छ ।
कांग्रेसले महिला, दलित, आदिवासी जनजाति, खस आर्य, मधेशी, मुस्लिम, थारु, अल्पसङ्ख्यक वा अपाङ्गता भएका व्यक्तिसहित समावेशी समूहमा राखेको छ । हालको व्यवस्थाअनुसार कुनै पनि समूहको उल्लेखित पदमा प्रतिनिधित्व नहुने अवस्था भएमा सो वडामा सो समूहबाट क्रियाशील सदस्य रहेको खण्डमा एक जना वडा कार्यसमिति सदस्य र एक जना क्षेत्रीय प्रतिनिधि थप व्यवस्था गर्ने निर्णय गरिएको हो ।
यसअघि प्रतिनिधित्वको अनुसूचीसम्बन्धी व्यवस्थासमेतको निर्वाचन निर्देशिका कांग्रेस कार्यसमितिको बैठकमा प्राप्त सुझावसमेतलाई ध्यानमा राखी सहमतिमा टुङ्गो लगाई पार्टी सभापति शेरबहादुर देउवालाई बुझाउने गरी भनी गरिएको निर्णयका आधारमा आजको निर्णय गरिएको हो ।
(2).gif)
