अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) जापान च्याप्टर र तनहुँ समाज जापानको संयुक्त आयोजनामा आदिकवि भानुभक्त आचार्यको २१३औँ भानुजयन्ती विशेष कार्यक्रम ‘भानु उत्सव २०८३’ भव्य रूपमा सम्पन्न भएको छ।
अनेसास जापानका अध्यक्ष आनन्द अधिकारीको अध्यक्षता तथा एनआरएनए जापानका अध्यक्ष सुभाष लामिछानेको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा तनहुँ समाज जापानका अध्यक्ष डा. भोजराज पन्थले कार्यक्रम संयोजन गर्नुभएको थियो।
कार्यक्रममा विष्णु प्रसाद घिमिरे, प्रकाश पौडेल ‘माइला’, दिनेशराज ज्ञवाली तथा अरुण पौडेलले मन्तव्य व्यक्त गर्दै आदिकवि भानुभक्त आचार्यको नेपाली भाषा, साहित्य र संस्कृतिप्रतिको अतुलनीय योगदानको चर्चा गर्नुभएको थियो। उहाँहरूले यस्ता साहित्यिक कार्यक्रमहरूले नेपाली भाषा र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनमा महत्वपूर्ण भूमिका खेल्ने धारणा व्यक्त गर्नुभयो।
कार्यक्रमअन्तर्गत गिरिजा गैह्रे, सविना रेग्मी र गृष्मा पौड्यालले भानुभक्तका रचनाहरू वाचन गर्नुभएको थियो भने तनहुँ समाज जापानका वरिष्ठ उपाध्यक्ष दीपक घिमिरेले ‘भानुभक्तको व्यक्तित्व र कृतित्व’ विषयमा जानकारीमूलक प्रस्तुति दिनुभएको थियो। सोही अवसरमा कवि सुमित्रा सुमीको कविता सङ्ग्रह ‘कलेजी बर्को’ को जापानमा विमोचन पनि गरिएको थियो।
त्यसैगरी खुला रचना वाचन कार्यक्रममा डिजी शर्मा, सुजाता शर्मा, शान्ति अधिकारी, बैकुण्ठ भट्ट, सुजन बैरागी, मनिषा सुबेदी, विश्वबन्धु भण्डारी, इन्दिरा खनाल, अमृत ढकाल, सोना केसी, लक्ष्मी पौडेल, दीपा घिमिरे, यमलाल कँडेल, सरिता ढकाल, शारदा पाण्डे, सरोज घिमिरे, धिषण निरौला, राजन चिमरिया तथा प्रिजम न्यौपाने लगायतका स्रष्टाहरूले आफ्ना सिर्जनाहरू वाचन गर्नुभएको थियो। कार्यक्रममा इवा पौडेलले आकर्षक सांस्कृतिक नृत्य प्रस्तुत गर्नुभएको थियो।
करिब ८०–९० जना साहित्यप्रेमी तथा नेपाली समुदायका व्यक्तिहरूको उल्लेखनीय उपस्थिति रहेको कार्यक्रममा तनहुँ समाज जापानका महासचिव डा. दिपेन्द्र ढकालले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो भने कार्यक्रमको सञ्चालन अनेसास जापानका महासचिव मनोज मौसम केसी तथा सचिव विनिशा सापकोटाले संयुक्त रूपमा गर्नुभएको थियो। नेपाली भाषा, साहित्य र संस्कृतिको संरक्षण, संवर्द्धन तथा प्रवर्द्धन गर्ने उद्देश्यका साथ आयोजित उक्त कार्यक्रम सौहार्दपूर्ण वातावरणमा सफलतापूर्वक सम्पन्न भएको आयोजकले जनाएको छ।









(2).gif)
