अनेसास जापान च्याप्टरले चर्चित कवि तथा गीतकार लालगोपाल सुवेदीसँग विशेष साहित्यिक कार्यक्रम ‘लालगोपालसँग कविता साँझ’ आयोजना गर्ने भएको छ। यही फेब्रुअरी २१ तारिख साँझ ५ बजेदेखि टोकियोको सुगामोस्थित राइनो किचनमा कार्यक्रम हुने आयोजकले जनाएको छ।
नेपाली भाषा, साहित्य तथा संस्कृतिको प्रवर्द्धन गर्ने उद्देश्यले विशेष काव्य साँझ आयोजना गर्न लागिएको हो। कार्यक्रममा कवि सुवेदीले आफ्ना प्रतिनिधिमूलक तथा समसामयिक रचनाहरू वाचन गर्नुका साथै साहित्यप्रेमीहरूसँग प्रत्यक्ष संवाद गर्ने कार्यक्रम रहेको छ।
अनेसास जापान च्याप्टरका अध्यक्ष आनन्द अधिकारीले प्रवासमा नेपाली साहित्यिक वातावरणलाई थप सशक्त बनाउन तथा नयाँ पुस्तालाई साहित्यसँग जोड्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताउनुभयो।
त्यस्तै महासचिव मनोज मौसम केसीले कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिँदै साहित्यप्रेमी महानुभावहरूको सक्रिय सहभागिताले कार्यक्रम सफल हुने विश्वास व्यक्त गर्नुभएको छ।
कार्यक्रम संयोजक सरोज घिमिरेले सम्पूर्ण साहित्यप्रेमी महानुभावहरूलाई कार्यक्रममा उपस्थित भई कार्यक्रमलाई सफल पार्न अनुरोध गर्नुभएको छ।
(2).gif)
