मंगलबार, भाद्र ३० गते २०८३ Tuesday, 15 Sep, 2026
Follow Us on

आज ऋषिपञ्चमी, हिन्दु महिलाहरु व्रत बस्दै

गण्डकी पोष्ट भाद्र २६, २०७८ शनिबार
  • 510
    SHARES
  • आज ऋषिपञ्चमी, हिन्दु महिलाहरु व्रत बस्दै

    हरितालिका तीजसँग धार्मिक एवं सांस्कृति सम्बन्ध जोडिएको ऋषिपञ्चमी आज (शनिबार) परेको छ । 

    images

    प्रत्येक वर्ष भाद्र शुक्ल पञ्चमीका दिन अरुन्धतीसहित सप्तऋषिको पूजा आराधना गरेर व्रत बस्दै नेपाली हिन्दु नारी (महिला)हरुले धुमधामसाथ ऋषिपञ्चमी मनाउने गरेका छन् । तीजसँग महत्व जोडिएको यसलाई हिन्दु नारीहरुको विशेष पर्वका रूपमा पनि लिइन्छ । 

    आजको दिन बिहानै उठेर नित्यकर्मसहित नारीहरुले नदी, खोला, ताल, तलैया, पोखरी एवं पानीका स्रोत भएका स्थानमा गएर तीन सय ६५ वटा दत्तिवनले दाँत माझ्ने, गाईको गोबर, माटो र खरानी लगाएर स्नान गर्छन् । ऋषिपञ्चमीमा महिलाहरुले व्रत एवं पूजा आराधना गर्ने गर्दछन् । हरितालिका तीजको व्रत भने महिला र पुरुषले नै लिने शास्त्रीय मान्यता रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका पूर्वअध्यक्ष एवं धर्मशास्त्रविद् प्राडा रामचन्द्र गौतमले जानकारी दिए ।

    रजस्वलाका समयमा छाईछुईलगायत कुनै त्रुटि भएको भए आज ऋषिपञ्चमीको दिन अरुन्धतीसहित सप्तऋषिको पूजा गर्नाले त्यसबाट मुक्ति पाइने धार्मिक विश्वास छ । नारीलाई रजस्वलाको प्रथम दिन चाण्डाल्नी, दोस्रो दिन ब्रह्मघातिनी, तेस्रो दिन धोबिनी र चौथो दिन स्नान गरी शुद्ध हुन्छिन् भन्ने विश्वास गरिन्छ । 

    यसैकारण आजको दिन दत्तिउन, गाईको गोबर, माटो र खरानी प्रयोग गरी स्नान गरेर पञ्चगव्य सेवन गर्नाले छुवाछूतको दोष निवारण हुन्छ भन्ने शास्त्रीय वचन रहेको गौतमले बताए । 

    यसरी स्नान गरेपछि अरुन्धतीसहित अत्रि, गौतम, भारद्वाज, जमदग्नि, वशिष्ठ, कश्यप र विश्वामित्रको पूजा गर्ने गरिन्छ । यसलाई ऋषिपञ्चमीको पूजा लगाउने भनिन्छ । सप्तऋषिको पूजा गर्ने पञ्चमी भएकैले आजको पञ्चमीलाई ऋषिपञ्चमी भन्ने गरिएको हो ।

    ऋषिपञ्चमी सुरु हुनुको मान्यता महिलाको रजस्वलासित जोडिएको ऋषिपञ्चमीका विषयमा एउटा किंवदन्ती पनि प्रचलित छ । प्राचीन समयमा इन्द्रले विश्वरूपको शिरलाई तीन टुक्रा पारी हत्या गरेका कारण ब्रह्म हत्याको पाप भोग्नुपर्यो । यस हत्याबाट पिरोलिएका इन्द्रले आफ्नो दुःख ब्रह्मालाई सुनाए । इन्द्रको ब्रह्म हत्या निवारणका लागि ब्रह्माले एक वर्षसम्मको दोष इन्द्रलाई भोग गराई बाँकी दोष पृथ्वी, वृक्ष, जल र स्त्रीमा चार भाग लगाई चारैतिर फयाँकिदिए ।

    यसैकारण उब्जनी नहुने उषरभूमि, वृक्षबाट निस्कने खोटो, पानीमा निस्कने बुदबुद फेन अर्थात् फिँज र स्त्रीमा रज देखिन थालेको धार्मिक विश्वास रहेको आध्यात्मिक पुस्तक लेखनमा सक्रिय पण्डित मधुसूदन सुवेदीले जानकारी दिए । रजस्वला भएका बेलामा अरुलाई छोइछाई गर्दा महिलाको शरीरबाट निस्कने विकृत रजका कीटाणुले नराम्रा रोग निम्त्याउने र त्यसले गर्दा महिलालाई नै पाप लाग्ने भएकाले छुन नहुने र जानी नजानी छोइछाई भएमा आजको दिनमा अरुन्धतीसहित सप्तऋषिको पूजा गर्नाले त्यस पापबाट मुक्त भइने धार्मिक विश्वास रहेको हो ।

    रज भनेको फोहर हो । रजस्वला भएका बेला निस्कने फोहोरबाट बच्नु स्वास्थ्यका लागि राम्रो हुने भएकाले अध्ययन अनुसन्धानबाट प्रमाणित भएपछि समाजमा लागू गरिएको विश्वास गरिन्छ । यसका विषयमा आधुनिक विज्ञान र स्वास्थ्यका दृष्टिकोणसमेतबाट अध्ययन गरी सार्वजनिक गरिनुपर्नेमा पनि उनले जोड दिए ।

    आज स्नान गरी पूजा आजा गरेपछि नरोपी उम्रेका अन्न सामा, कागुनो, कन्दमूल र कर्कला आदि खाई एक छाक हविष्य बस्नुपर्ने व्रतविधि छ । आज काठमाडौंको टेकु, मूलपानीलगायत मुलुकभरका ऋषेश्वर मन्दिरमा पूजाआजाका लागि श्रद्धालु महिला भक्तजनको भीड लाग्छ । कोरोना महामारी कम हुँदै गएकाले मन्दिर खुला गरिए पनि भौतिक दूरी कायम गरी स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर पूजा आराधना गर्न प्रशासनले आह्वान गरेको छ । 

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार