सोमबार, भाद्र २९ गते २०८३ Monday, 14 Sep, 2026
Follow Us on

Trending

तीज विशेष कार्यक्रम स्थगित गर्दै निउरे समाज जापानद्वारा प्रधानमन्त्री राहत कोषमा १ लाख ५५ हजार ५५५ रुपैयाँ सहयोग

गण्डकी पोष्ट भाद्र १८, २०८३ बिहीबार
  • 540
    SHARES
  • तीज विशेष कार्यक्रम स्थगित गर्दै निउरे समाज जापानद्वारा प्रधानमन्त्री राहत कोषमा १ लाख ५५ हजार ५५५ रुपैयाँ सहयोग

    नेपालमा आएको महाविनाशकारी बाढीबाट ठूलो जनधनको क्षति भएपछि निउरे समाज जापानले आफ्नो तीज विशेष कार्यक्रम स्थगित गर्दै १ लाख ५५ हजार ५५५ रुपैयाँ प्रधानमन्त्री राहत कोषमा सहयोग गरेको छ।

    images

    निउरे समाज जापानले आगामी सेप्टेम्बर २ मा आयोजना गर्ने तय भएको तीज विशेष कार्यक्रम राष्ट्रिय विपद्को संवेदनशील अवस्थालाई मध्यनजर गर्दै स्थगित गर्ने निर्णय गरेको थियो। समाजका अध्यक्ष खिमानन्द निउरेको अध्यक्षतामा तथा सचिव खिम निउरेको सञ्चालनमा गत २७ अगस्टमा बसेको भर्चुअल बैठकले कार्यक्रम स्थगित गर्ने निर्णय गरेको हो।

    कार्यक्रम स्थगित गर्नुका साथै तीज विशेष कार्यक्रमका लागि छुट्याइएको रकम विपद्बाट प्रभावित तथा पीडित नागरिकको सहयोगमा प्रदान गर्ने निर्णयसमेत बैठकले गरेको थियो। सोही निर्णयअनुसार सेप्टेम्बर १ गते १ लाख ५५ हजार ५५५ रुपैयाँ रेमिटमार्फत प्रधानमन्त्री राहत कोषमा जम्मा गरिएको समाजले जनाएको छ।

    समाजले वर्तमान अवस्थामा उत्सव र मनोरञ्जनभन्दा विपद्मा परेका नागरिकको पीडा र आवश्यकता महत्वपूर्ण रहेको जनाएको छ। विदेशमा रहेर पनि मातृभूमिमा आइपरेको संकटमा आफ्नो क्षमता र सामर्थ्यअनुसार सहयोग गर्नु साझा दायित्व भएको भन्दै तीजको उत्सवलाई मानवीय सहयोग र सामाजिक उत्तरदायित्वमा रूपान्तरण गरिएको समाजले स्पष्ट पारेको छ।

    बाढीमा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गर्दै समाजले प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनामा खटिएका सुरक्षाकर्मी, स्वयंसेवक, सामाजिक संस्था, अभियन्ता तथा सहयोगी हातहरूप्रति आभार व्यक्त गरेको छ।

    साथै, निउरे समाज जापानले सम्पूर्ण नेपाली समुदायलाई आ–आफ्नो क्षमता र सामर्थ्यअनुसार विपद् प्रभावित नागरिकको सहयोगमा जुट्न अपिल गरेको छ। “यसपटक आफ्नो खुसीको केही हिस्सा देशको दुःखमा समर्पित गरौँ। दुःखमा साथ दिऔँ, विपद्मा हातेमालो गरौँ र मानवीयताको पक्षमा एकजुट बनौँ,” समाजले आग्रह गरेको छ।

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार