अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) जापान च्याप्टरको आयोजनामा नेपाली नयाँ वर्ष २०८३ को अवसर पारेर ८२औँ नियमित साहित्यिक श्रृंखला अन्तर्गत ‘साकुराको फेदमुनी’ शीर्षकमा साहित्यिक कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रम चिबा केनको इचिगावा स्टेशन नजिक अवस्थित साकुरा चुचुमी पार्कमा आयोजना गरिएको थियो।
प्रकृतिसँगै साहित्यलाई जोड्ने उद्देश्यले आयोजना गरिएको उक्त कार्यक्रममा सभाध्यक्षका रूपमा अनेसास जापानका अध्यक्ष आनन्द अधिकारी रहनुभएको थियो। कार्यक्रममा साकुराको रुखलाई नै प्रमुख अतिथिका रूपमा प्रतीकात्मक सम्मान दिइएको थियो, जसले कार्यक्रमलाई विशेष अर्थपूर्ण र प्रकृतिमैत्री बनाएको थियो।
कार्यक्रममा राष्ट्रिय लोकदोहोरी प्रतिष्ठानका केन्द्रीय सचिव, गायक तथा संगीतकार रामकृष्ण बम मल्लले साहित्यिक संस्थाहरूले कार्यक्रम आयोजना मात्र नभई नेपाली भाषाको शुद्धता र संरक्षणमा पनि विशेष ध्यान दिनुपर्नेमा जोड दिनुभयो।
सांगीतिक प्रस्तुतीतर्फ राष्ट्रिय लोकदोहोरी प्रतिष्ठानका केन्द्रीय सदस्य गायक सूर्य खड्का तथा राष्ट्रिय लोकदोहोरी प्रतिष्ठान जापानका अध्यक्ष समुन्द्रराज पौडेलले आकर्षक गीत प्रस्तुत गरी कार्यक्रमलाई थप मनोरञ्जनात्मक बनाउनु भएको थियो।
कार्यक्रममा डा. कुमार बस्नेत, प्रकाश पौडेल ‘माइला’, विष्णु प्रसाद घिमिरे, दीप पाठक, गिरिजा गैह्रे, रविन शर्मा, अरूण पौडेल, रविन्द्र गोर्खाली, गृष्मा पौड्याल, मञ्जु गिरी, डिजी शर्मा, सुजन बैरागी, लक्ष्मण भन्तना, निरज पाण्डे, नविन कँडेल, जमुना रेग्मी, दिपेश गिरी, अप्सरा सुनार, शारदा पाण्डे, सुजता शर्मा, विष्णु सुबेदी, विश्वबन्धु भण्डारी, प्रिजम न्यौपाने, सुवास पोख्रेल, विनोद सापकोटा, सविना रेग्मी, लक्ष्मी पौडेल तथा दीपा घिमिरे लगायतका स्रष्टाहरूले आफ्ना रचना वाचन गर्दै साहित्यिक वातावरणलाई जीवन्त बनाएका थिए। साथै सबैले नेपाली नयाँ वर्ष २०८३ को शुभकामना आदान–प्रदान गरेका थिए।
कार्यक्रमको संयोजन अनेसास जापानका सचिव यमलाल कँडेलले गर्नुभएको थियो भने स्वागत मन्तव्य सह–कोषाध्यक्ष सरिता चौधरीले व्यक्त गर्नुभएको थियो। कार्यक्रम सञ्चालन संस्थाका महासचिव मनोज मौसम केसीले गर्नुभएको थियो।
विभिन्न संघ–संस्थाका प्रतिनिधिहरूसहित करिब ७०–८० जनाको उल्लेखनीय सहभागिता रहेको उक्त कार्यक्रममा सहभागीहरूले घरबाट ल्याइएका सेलरोटी, बटुक रोटी, अचार, पकौडा, चटपट र चिया साकुराको फेदमा बसेर आत्मीय रूपमा सँगै ग्रहण गरेका थिए। यसले कार्यक्रमलाई अझ पारिवारिक र सौहार्दपूर्ण बनाएको थियो। कार्यक्रमको अन्त्यतिर मादलको तालमा भव्य नाचगानसमेत गरिएको थियो।
प्रवासमा रहेर नेपाली भाषा, साहित्य र संस्कृतिको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित यस कार्यक्रमले सहभागीहरूबीच आत्मीयता, सांस्कृतिक एकता र प्रकृतिप्रतिको सम्मानको सन्देश प्रवाह गरेको आयोजकले जनाएको छ।
(2).gif)
