युरोपियन च्याम्पियन्स लिग फुटबल प्रतियोगितामा आज एक ठूलो खेल हुँदैछ, जहाँ समूह चरणको पाँचौं खेलमा इंग्लिस क्लब म्यानचेस्टर सिटी र फेन्च क्लब पिएसजीको रोमाञ्चक महाभिडन्त हुँदैछ । यो खेल सिटीको घरेलु मैदानमा नेपाली समय अनुसार राति ठीक १ः४५ बजेबाट सुरु हुनेछ । युरोपको सबसे धारिलो अट्याकिङ खेल शैलीको सिटी आज घरेलु टोली र युरोपको ‘सुपर टिम’ भनेर चिनिने पिएसजी पाहुना टोलीका रूपमा भिड्दा यो खेल बडा घमाशान हुने पक्का छ ।
यसअघि आफ्नो घरेलु मैदानमा भएको खेलमा पिएसजीले पाहुना टोली सिटीलाई २–० ले स्तब्ध बनाएको थियो । आज घरेलु टोली सिटीले पाहुना टोली पिएसजीसँग सो हारको बदला लिन मात्रै चाहँदैन, यो खेल जितेर अन्तिम खेलअघि नै अन्तिम १६ मा स्थान तय गर्न चाहन्छ । आजको खेल सिटीका लागि घरेलु मैदानमा हुने भएकाले प्रतिष्ठाको खेल पनि हुनेछ भने पिएसजीका लागि आजै शीर्ष स्थानमा चढेर अर्को चरण जानका लागि राम्रो अवसर छ ।
समूह ‘ए’ मा हाल सिटी ४ खेलपछि ९ अंक बनाएर शीर्ष स्थानमा रहेको छ भने पिएसजी ८ अंकका साथ दोस्रो स्थानमा रहेको छ । यी दुवै टिम अन्तिम १६ मा जानका लागि मुख्य दाबेदार टिम हुन् । शीर्ष टोली सिटीलाई अर्को चरण जानका लागि आजको खेलमा बराबरी नतिजा नै काफी हुन्छ । तर, पारजित भयो भने अर्को खेलको नतिजाका आधारमा अन्तिम खेलसम्म पर्खिनुपर्ने हुन सक्छ । आजै अर्को खेलमा बेल्जियन क्लब ब्रुगी र जर्मन क्लब आरबी लेइपजिगको खेल बराबरीमा सकियो भने सिटी आज हारे पनि पिएसजीसँगै आज नै अन्तिम १६ मा प्रवेश गर्नेछ ।
ब्रुगी हाल ४ अंकका साथ तेस्रो स्थानमा रहेको छ । अझै पनि दोस्रो स्थानमा रहनका लागि सिटी र पिएसजी मध्ये एकलाई समस्यामा पार्न सक्ने सम्भावना ब्रुगीको छ । यदि उसले बाँकी आफ्ना दुवै खेल जित्यो भने पिएसजी र सिटीमध्ये एक टिम अन्तिम १६ मा जानबाट रोकिनेछ । यदि आज सिटीले पिएसजीलाई जित्यो अनि उता ब्रुगीले लेइपजिगलाई हरायो र अन्तिम खेलमा पिएसजीलाई ब्रुगीले हरायो भने पिएसजी आउट हुनेछ ।
तर, पिएसजीले आज राति सिटी र अन्तिम खेलमा ब्रुगीसँग गरी दुई खेलमध्ये मात्रै एक खेल जिते अन्तिम १६ मा जान काफी हुन्छ । यसको अर्थ पिएसजीमाथि ज्यादा दबाब छैन । सिटीले त झन् आज राति पिएसजीसँग नहारे मात्रै पनि १० अंक बनाएर अर्को चरणमा जानेछ । सिटीलाई अन्तिम १६ मा स्थान बनाउन १ अंक र पिएसजीलाई २ अंक आवश्यक छ । हालकै स्थितिमा सिटी र पिएसजी दुवैमाथि खास दबाब छैन । तर, ब्रुगीलई समस्या छ । उसलाई अन्तिम १६ मा जान सिटी र पिएसजीमध्ये एकको खराब समय चल्नुपर्छ ।
त्यो भनेको सिटी र पिएसजी मध्ये जसले आज रातिको सहित अन्तिम खेल गरी दुवै खेल हार्छ, त्यो बेल ब्रुगी अघि बढ्छ । कम्तीमा अहिलेको अवस्थामा सिटी र पिएसजी मध्ये कुनै एकले २ खेल लगातार हार्ने सम्भावना न्यून छ । त्यसका लागि दीनदशा नै चल्नुपर्ने हुन्छ । सिधा रूपमा हेर्दा आज राति पिएसजीसँग बराबरी मात्रै भए सिटी अन्तिम १६ मा प्रवेश गरिहाल्छ । पिएसजीले जिते सिटीले अन्तिम खेलसम्म पर्खिनुपर्छ भने पिएसजी आज नै अर्को चरण प्रवेश गर्छ । आज सिटी र पिएसजी बीच बराबरी भए सिटी आजै अर्को चरण जान्छ भने पिएसजीले अन्तिम खेलसम्म पर्खिनुपर्छ । यस समूहको सोझो अंकगणित यही हो ।
(साभार -हेलो नेपाल )
(2).gif)
