नेपाल माल्दिभ्समा जारी १३औँ संस्करणको साफ च्याम्पियनसिपको फाइनलमा पुगेको छ । बुधबार आफ्नो चौथो खेल खेलेको नेपाल बङ्गलादेशसँग १–१ गोलको बराबरी खेल्दै इतिहासमै पहिलोपटक साफको फाइनलमा पुगेको हो ।
राजधानी मालेस्थित नेसनल फुटबल रङ्गशालामा भएको खेलमा बङ्गलादेशका लागि सुमन रेजाले गोल गरे । नेपालका लागि अन्जन विष्टले गोल गरे ।
खेलको छैटौँ मिनेटमा विपक्षी खेलाडीलाई पेनाल्टी क्षेत्र नजिकै गौतम श्रेष्ठले लडाएपछि बङ्गलादेशले फ्रि–किक पाएको थियो । सोही अवसरमा नेपाली डिफेन्सबाट अनमार्क रहेका सुमन रेजाले उत्कृष्ट हेड गर्दै गोल गरेका थिए । कप्तान जमान भुयानले प्रहार गरेको फ्रि–किक नेपाली डिफेन्डर दिनेश राजवंशीसँग ठोक्किएर डिफ्लेक्ट हुँदै नेपालको गोल पोस्टतिर आएको थियो । सोही बललाई रेजाले पोस्टको दिशा दिँदै सुन्दर गोल गरेका थिए ।
खेलको ७९औँ मिनेटमा बङ्गलादेशका गोलकिपर अनिसुर रहमान जिकोले रातो कार्ड खाँदै मैदानबाट बिदा भएका थिए । अञ्जन विष्टमाथि खराब ट्याकल गरेका कारण रेफ्रीले उनलाई मैदानबाहिर पठाएका थिए । त्यससँगै पाएको फ्रि–किकमा नेपालले गोल गर्न सकेन ।
खेलकाे ८८औँ मिनेटमा अन्जनले पेनाल्टीमा गोल गरेपछि नेपाल बराबरीमा फर्किन सफल भएको थियो । बराबरीसँगै नेपाल पहिलोपटक फाइनलमा पुगेकाे हो ।
चार खेलमा सात अङ्क बनाएको नेपाल फाइनलमा प्रवेश गरेको हो । पहिलो खेलमा माल्दिभ्सलाई १–० गोलले हराएको नेपालले दोस्रो खेलमा श्रीलङ्कालाई ३–२ गोलले हराउँदै ६ अङ्क जोडेको थियो । तेस्रो खेलमा भने भारतसँग १–० गोलले पराजित नेपालले चाैथाे खेलमा भने बराबरी खेल्यो । अब, नेपालले उपाधिका लागि भारत र माल्दिभ्सबीचको विजेता टिमसँग खेल्नेछ । भारत र माल्दिभ्सबीचको खेल आज राति हुँदै छ ।
यता, बङ्गलादेश भने बाहिरिएको छ । उसले पहिलो खेलमा श्रीलङ्कालाई १–० गोलले हराएको थियो भने दोस्रो खेलमा भारतसँग १–१ गोलको बराबरी खेलेको थियो । तेस्रो खेलमा भने बङ्गलादेश माल्दिभ्ससँग २–० गोलले पराजित भएको थियो ।
(2).gif)
