बार्सिलोनामा १० नम्बरको जर्सी महत्त्वपूर्ण मानिन्छ । यसअघि लिजेन्ड खेलाडी उक्त जर्सी लगाएर मैदान उत्रिएका कारण पनि १० नम्बरको जर्सी लगाउने खेलाडीले कत्तिको जर्सीलाई न्याय गर्न सक्छ भन्ने हेतुले हेरिन्छ । यसैले पनि यो सिजन सुरु भएको एक महिनाजति बितिसक्दा अर्जेन्टिनी स्ट्राइकर लियोनल मेस्सीले लगाउँदै आएको सो जर्सी लगाउने खेलाडी बार्सिलोनाले फेला पार्न सकेको थिएन ।
बार्सिलोनाको इतिहासमा गर्विलो जर्सी नम्बर भएका कारण पनि धेरै खेलाडीहरू उक्त जर्सी लगाउनबाट पन्छिएका थिए । तर अब भने बार्सिलोनाले १० नम्बरको जर्सी लगाउने नवयुवा प्रतिभा छानेको छ, त्यी हुन् अन्सु फाती । बुधबार बार्सिलोनाले २०२१–२२ को सिजनका लागि आफ्ना २५ खेलाडीको जर्सी सार्वजनिक गरेको थियो, जसमा फातीले १० नम्बरको लगाउने पक्का भएको हो ।
१८ वर्षीय फाती सेप्टेम्बर २०२० बाट मात्र बार्सिलोनाको सिनियर टिममा बढुवा भएका खेलाडी हुन् । उनले अघिल्लो सिजनको ला लिगामा सात खेल खेल्दा चार गोल गरेका थिए । धेरैले फातीलाई १० नम्बरे जर्सीको हकदार भएको बताएका छन् भने कतिले अहिले नै बार्सिलोनाले उनलाई जर्सी दिनु हतारको निर्णय भएको सुनाएका छन् ।
केही समयअघि बार्सिलोनाका पूर्वखेलाडी रोनाल्डिन्होले १० नम्बरको जर्सी रिटायर्ड गर्न सुझाव दिएका थिए । तर रोनाल्डिन्होले भनेजस्तै बार्सिलोनाको १० नम्बरे जर्सीलाई रिटायर्ड पनि गर्न सम्भव छैन । किनकि, स्पेनिस ला लिगामा जर्सी नम्बरलाई रिटायर्ड गर्ने परम्परा छैन । जसरी एनबिए, इटालियन सिरी ‘ए’ र इङ्ग्लिस प्रिमियर लिगमा छ । ती लिगमा पनि जर्सी नम्बर रिटायर्ड गरेको केस दुर्लभ नै छ । चेल्सीले जियानफ्रान्को जोलाको २५ नम्बरको जर्सी रिटायर्ड गरेको थियो ।
बार्सिलोनामा १० नम्बरको जर्सी लिजेन्ड खेलाडीले लगाएका छन् । फुटबलको ‘भगवान’ मानिने म्याराडोनाले १९८० को दशकमा १० नम्बरको जर्सी लगाएका थिए । क्लब स्थापनाको सुरुवाततिर बार्सिलोनामा अर्जेन्टिनी मिडफिल्डर फ्लोरेन्सियोले १० नम्बरको जर्सी लगाएका थिए । उनी सबैभन्दा सुरुमा बार्सिलोनामा १० नम्बरको जर्सी लगाउने खेलाडीसमेत हुन् ।
त्यसपछि हङ्गेरियन फरवार्ड लास्ज्लो कुबेलाले लगाएका थिए । यस्तै, १९६० को दशकमा रामोन भिल्लाभेर्डे, फर्नान्ड गोयभार्ट्स, हुगो सोटिल र जुआन म्यानुअल एसेन्सीले उक्त नम्बरको जर्सी भिरेका थिए । त्यसपछि पालो आयो, म्याराडोनाको । म्याराडोना तत्कालीन सबैभन्दा महँगो खेलाडी बन्दै बार्सिलोनामा अनुबन्ध भएका थिए । सन् १९८२ मा विश्वकप जितेपछि उनी पाँच मिलियन युरोमा बार्सिलोना आएका थिए ।
सन् १९९५ देखि एक वर्षसम्म एन्जल कुएलरले १० नम्बरको जर्सी लगाएका थिए भने त्यसपछि जियोभानीले १९९६ देखि १९९७ सम्म, जारी लिटमेननले १९९९ देखि २००० सम्म, रिभाल्डोले २००० देखि २००२ सम्म, जुआन रोमन रिक्युल्मीले २००२ देखि २००३ सम्म, रोनान्डिन्होले २००३ देखि २००८ सम्म र मेस्सीले २००८ देखि २०२१ सम्म १० नम्बरको जर्सी लगाए । बार्सिलोनामा लामो समय उक्त जर्सी लगाएका खेलाडी मेस्सी नै हुन् । उनले १३ वर्ष १० नम्बरको जर्सी लगाएका थिए । 
(2).gif)
