मंगलबार, भाद्र ३० गते २०८३ Tuesday, 15 Sep, 2026
Follow Us on

तीज कार्यक्रम स्थगित गर्दै बाढी प्रभावितका लागि रु. १ लाख ५१ हजार ५४४ सहयोग

गण्डकी पोष्ट भाद्र १७, २०८३ बुधबार
  • 609
    SHARES
  • तीज कार्यक्रम स्थगित गर्दै बाढी प्रभावितका लागि रु. १ लाख ५१ हजार ५४४ सहयोग

     नेपालमा गएको विनाशकारी बाढीपहिरोबाट ठूलो जनधनको क्षति भइरहेका बेला जापानको क्युसुमा रहेका बाग्लुङ समाज जापान, क्षेत्रीय समिति क्युसु र बिहुँकोट समाज जापान, क्षेत्रीय समिति क्युसुले मानवीय सेवालाई प्राथमिकता दिँदै तीज विशेष कार्यक्रम स्थगित गरेका छन्।

    images

    दुवै संस्थाको संयुक्त आयोजनामा हुने तय भएको तीज विशेष कार्यक्रम–२०२६ देशमा उत्पन्न विषम परिस्थितिलाई मध्यनजर गर्दै स्थगित गरिएको हो। कार्यक्रममार्फत संकलित रकममध्ये रु. १ लाख ५१ हजार ५४४ बाढीपहिरो प्रभावितका लागि राहत तथा सहयोगस्वरूप प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको तीज विशेष कार्यक्रमका आर्थिक संयोजक तथा बाग्लुङ समाज जापान, क्षेत्रीय समिति क्युसुका कोषाध्यक्ष दिपक पौडेल (मुक्ति)ले जानकारी दिए।

    पौडेलका अनुसार विपद्को यस्तो संवेदनशील समयमा मनोरञ्जन र उत्सवभन्दा पीडित नागरिकको जीवनरक्षा तथा राहतलाई प्राथमिकता दिनुपर्छ भन्ने भावनाका साथ कार्यक्रम स्थगित गरी रकम सहयोग गरिएको हो। “विपद्को समयमा सामाजिक संस्थाको दायित्व पीडितको साथमा उभिनु हो,” पौडेलले भने, “हामीले कार्यक्रमका लागि संकलित रकममध्ये उल्लेखित रकम विपद् प्रभावित नागरिकको राहत तथा उद्धारमा सहयोग पुगोस् भन्ने उद्देश्यले सरकारी कोषमा जम्मा गरेका हौँ।”

    भोटेकोशी नदीमा आएको भीषण बाढी तथा देशका विभिन्न क्षेत्रमा गएको बाढीपहिरोका कारण ठूलो मानवीय तथा भौतिक क्षति भएको छ। रसुवालगायत प्रभावित क्षेत्रमा बस्ती, सडक, बजार तथा विभिन्न भौतिक संरचनामा क्षति पुगेको छ भने कैयौँ परिवार विस्थापित भएका छन्।

    बाग्लुङ समाज जापान र बिहुँकोट समाज जापान क्युसुले विपद्मा परी ज्यान गुमाउनुहुने सम्पूर्णप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदना व्यक्त गरेका छन्। साथै, घाइते तथा प्रभावित सबैको शीघ्र स्वास्थ्यलाभ र सुरक्षित पुनःस्थापनाको कामना गरेका छन्।

    उत्सव स्थगित गरेर विपत्तिमा परेका नागरिकका लागि सहयोग जुटाउनु मानवीयताको उत्कृष्ट उदाहरण हो। तीजको खुसीलाई केही समयका लागि थाती राख्दै पीडितको दुःखमा साथ दिने बाग्लुङ र बिहुँकोट समाज जापान क्युसुको यो पहलले “विपद्मा उत्सवभन्दा मानवीयता ठूलो हुन्छ” भन्ने सन्देश दिएको छ।

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार