मंगलबार, भाद्र ३० गते २०८३ Tuesday, 15 Sep, 2026
Follow Us on

गल्कोट समाज जापान टोकियो क्षेत्रीय समितिको पहिलो भौतिक बैठक सम्पन्न, सेप्टेम्बर १० मा ‘तीज धमाका–२०२६’ आयोजना गर्ने निर्णय

गल्कोट समाज जापान टोकियो क्षेत्रीय समितिको पहिलो भौतिक बैठक सम्पन्न, सेप्टेम्बर १० मा ‘तीज धमाका–२०२६’ आयोजना गर्ने निर्णय

 गल्कोट समाज जापान टोकियो क्षेत्रीय समिति (२०२६–२०२८) कार्यकालको पहिलो भौतिक कार्यसमिति बैठक संस्थाका अध्यक्ष ईश्वर बस्नेतको अध्यक्षतामा सफलतापूर्वक सम्पन्न भएको छ।

images

टोकियोको सिनओकुबोस्थित बुकी रेस्टुरेन्टमा सम्पन्न बैठकको सञ्चालन संस्थाका सचिव चतुर्भुज सापकोटाले गर्नुभएको थियो। बैठकमा संस्थाका निवर्तमान अध्यक्ष दिनेश थापाको विशेष उपस्थिति रहेको थियो भने कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

“हाम्रो गाउँ, हाम्रो ठाउँ, हातेमालो गरौँ, समृद्ध बनाऔँ” भन्ने मूल नारासहित सन् २००६ मा स्थापना भएको गल्कोट समाज जापानले सामाजिक सेवाको उच्च भावनालाई आत्मसात् गर्दै गल्कोट क्षेत्रको सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिक, स्वास्थ्य, पर्यटन तथा वातावरणीय विकासमा योगदान पुर्‍याउने उद्देश्यका साथ निरन्तर क्रियाशील रहँदै आएको छ।

बैठकमा नवनिर्वाचित कार्यसमितिका सम्पूर्ण पदाधिकारी तथा सदस्यहरूको परिचयात्मक कार्यक्रम सम्पन्न हुनुका साथै संस्थाको भावी कार्यदिशा, वार्षिक कार्ययोजना तथा समसामयिक विषयमा विस्तृत छलफल गरिएको थियो। साथै, विगतदेखि सञ्चालन हुँदै आएका सामाजिक, सांस्कृतिक तथा परोपकारी गतिविधिहरूलाई अझ प्रभावकारी रूपमा निरन्तरता दिने निर्णय समेत गरिएको छ।

बैठकको प्रमुख एजेन्डाका रूपमा नेपालीहरूको महान् पर्व हरितालिका तीजलाई भव्य रूपमा मनाउने विषयमा विशेष छलफल भएको थियो। विदेशमा रहेर पनि नेपाली भाषा, कला, संस्कृति, परम्परा, रीतिरिवाज तथा संस्कारको संरक्षण र प्रवर्द्धन गर्ने, नेपाली समुदायबीच आपसी आत्मीयता र सद्भाव अभिवृद्धि गर्ने तथा कार्यक्रमबाट बचत हुने रकम शिक्षा क्षेत्रमा सहयोग गर्ने उद्देश्यका साथ आगामी सेप्टेम्बर १०  मा टोकियोको कामाता क्षेत्रमा चर्चित कलाकारहरूको उपस्थितिमा ‘तीज धमाका–२०२६’ आयोजना गर्ने निर्णय गरिएको संस्थाका अध्यक्ष ईश्वर बस्नेतले जानकारी दिनुभयो।

यसै सन्दर्भमा, सोही मितिमा आयोजना हुने तीज धमाका–२०२६ लाई सफल बनाउन टोकियो तथा आसपासका नेपाली संघ–संस्थाहरूलाई उक्त दिन अन्य कार्यक्रम नजुधाइदिन तथा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई कार्यक्रममा सहभागी भई मनोरञ्जनसँगै कार्यक्रमको गरिमा बढाई संस्थालाई सहयोग गरिदिन संस्थाका सचिव चतुर्भुज सापकोटाले अनुरोध गर्नुभएको छ।

 गल्कोट समाज जापान टोकियो क्षेत्रीय समितिले आगामी दिनहरूमा पनि नेपाली समुदायको एकता, सामाजिक सद्भाव, सांस्कृतिक संरक्षण तथा समाजसेवामूलक गतिविधिलाई थप प्रभावकारी ढंगले अगाडि बढाउँदै संस्थाको उद्देश्यअनुरूप निरन्तर क्रियाशील रहने प्रतिबद्धता व्यक्त गरेको छ।



प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार