मंगलबार, भाद्र ३० गते २०८३ Tuesday, 15 Sep, 2026
Follow Us on

प्रथम जापान लोक तारा २०२६” का उत्कृष्ट १० प्रतिभा सार्वजनिक, अम्बर बिरही गुरुङको विशेष सांगीतिक साँझको तयारी तीव्र

गण्डकी पोष्ट जेठ ११, २०८३ सोमबार
  • 441
    SHARES
  • प्रथम जापान लोक तारा २०२६” का उत्कृष्ट १० प्रतिभा सार्वजनिक, अम्बर बिरही गुरुङको विशेष सांगीतिक साँझको तयारी तीव्र

    राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल, जापान शाखाले आयोजना गरिरहेको “प्रथम जापान लोक तारा २०२६” प्रतियोगिताको उत्कृष्ट १० प्रतिभाहरू सार्वजनिक गरेको छ। आयोजकले सार्वजनिक गरेको सूचीअनुसार छनोट भएका प्रतिभाहरू अब लाइभ राउन्डमार्फत सेमिफाइनल तथा फाइनल चरणमा प्रतिस्पर्धा गर्नेछन्।

    images

    प्रतिष्ठानका अनुसार प्रतियोगितामा देश तथा विदेशबाट उल्लेख्य सहभागिता रहेको थियो। प्राप्त भिडियो प्रस्तुतीहरूको मूल्यांकनपछि उत्कृष्ट १० प्रतिभाहरू छनोट गरिएको आयोजकले जनाएको छ। सार्वजनिक गरिएको उत्कृष्ट १० प्रतियोगीहरूमा अस्मिता लामिछाने, गणेश छन्त्याल, पार्वती आचार्य, कपिल पन्थी, किरण प्रभात, सबु भुसाल भण्डारी, तनुजा शाही, सचिना बिक, आरती परियार र केशव शर्मा रहेका छन्।

    आयोजकका अनुसार उत्कृष्ट १० मध्येबाट उत्कृष्ट ५ प्रतिभा छनोट गरी आगामी जुन १४ तारिख आइतबार टोकियोको मेगुरो कुमिन सेन्टरमा हुने फाइनल चरणबाट “प्रथम जापान लोक तारा २०२६” घोषणा गरिनेछ। सेमिफाइनल चरणमा फिजिकल अडिसन तथा लाइभ बाजासहित प्रस्तुति रहने जनाइएको छ।

    प्रतियोगिताका निर्णायक संयोजक राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका सचिव, गायक तथा सर्जक रामकृष्ण बम मल्ल रहेका छन् भने राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका केन्द्रीय सदस्य तथा चर्चित लोकदोहोरी गायक सूर्य खड्का र लोकगायिका ज्योति लोहोनी निर्णायकको भूमिकामा रहेका छन्। निर्णायकहरूले प्रतिभाहरूको प्रस्तुति, स्वर, लय, शब्द उच्चारण तथा समग्र प्रस्तुतिका आधारमा मूल्यांकन गरिएको बताएका छन्।

    त्यसैगरी कार्यक्रमकै विशेष आकर्षणका रूपमा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका संस्थापक अध्यक्ष, वरिष्ठ लोक तथा दोहोरी गायक तथा सर्जक अम्बर बिरही गुरुङको विशेष सांगीतिक साँझ समेत आयोजना हुने भएको छ। गुरुङको प्रस्तुतीले कार्यक्रमलाई थप भव्य, आकर्षक र सांगीतिक बनाउने विश्वास आयोजकले लिएको छ।

    “हाम्रो अभियान, लोकसंस्कृतिको संरक्षण, श्रष्टाको सम्मान र नवप्रतिभाको प्रोत्साहन” भन्ने मूल नारासहित आयोजना गरिएको यस कार्यक्रमले जापानमा रहेका नेपाली समुदायबीच नेपाली लोकसंस्कृति, कला र संगीतको संरक्षण तथा प्रवर्द्धनमा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।

    प्रतियोगितामा प्रथम हुनेलाई १ लाख १ हजार येन, द्वितीयलाई ५१ हजार येन, तृतीयलाई ३१ हजार येन तथा सान्त्वना पुरस्कारस्वरूप ११ हजार येन प्रदान गरिने आयोजकले जनाएको छ।

    कार्यक्रमको इभेन्ट पार्टनरका रूपमा YEHEY Remit रहेको  छ। जापानस्थित नेपाली समुदायबीच विश्वासिलो र सहज रेमिट सेवा प्रदान गर्दै आएको YEHEY Remit को सहकार्यले कार्यक्रमलाई थप प्रभावकारी र व्यवस्थित बनाउन सहयोग पुग्ने आयोजकले जनाएको छ।

    प्रतिष्ठान जापान शाखाका अध्यक्ष समुन्द्र राज पौडेलले जापानमा रहेका नेपाली प्रतिभाहरूलाई अन्तर्राष्ट्रिय मञ्च प्रदान गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताउँदै सम्पूर्ण नेपाली समुदायलाई कार्यक्रममा उपस्थित भई सफल बनाउन आग्रह गरेका छन्।


    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार