मंगलबार, भाद्र ३० गते २०८३ Tuesday, 15 Sep, 2026
Follow Us on

“प्रथम जापान लोक तारा २०२६” तथा अमर बिरही गुरुङको विशेष सांगीतिक साँझको तयारी तीव्र, निर्णायक मण्डल सार्वजनिक”

गण्डकी पोष्ट जेठ ७, २०८३ बिहीबार
  • 259
    SHARES
  • “प्रथम जापान लोक तारा २०२६” तथा अमर बिरही गुरुङको विशेष सांगीतिक साँझको तयारी तीव्र, निर्णायक मण्डल सार्वजनिक”

     राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल, जापान शाखाले आयोजना गर्न लागेको “प्रथम जापान लोक तारा २०२६” तथा वरिष्ठ लोक तथा दोहोरी गायक अमर बिरही गुरुङको विशेष सांगीतिक साँझको तयारी तीव्र पारिएको छ। संस्थाले आवेदन प्रक्रिया औपचारिक रूपमा सम्पन्न भएको घोषणा गर्दै प्रतियोगिताका लागि निर्णायक मण्डल समेत सार्वजनिक गरेको हो।

    images

    प्रतिष्ठानका अनुसार प्रतियोगितामा उल्लेख्य सहभागिता जनाउँदै आवेदन दिने सम्पूर्ण प्रतिभावान कलाकारहरूप्रति हार्दिक धन्यवाद व्यक्त गरिएको छ। साथै आगामी चरणहरू सफलतापूर्वक सम्पन्न होस् भन्ने शुभकामना पनि आयोजकले व्यक्त गरेको छ।

    सार्वजनिक गरिएको निर्णायक मण्डलमा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका सचिव, गायक तथा सर्जक रामकृष्ण बम मल्ल निर्णायक संयोजकका रूपमा रहेका छन् भने राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका केन्द्रीय सदस्य तथा चर्चित लोकदोहोरी गायक सूर्य खड्का र लोकगायिका ज्योति लोहोनी निर्णायकको भूमिकामा रहनेछन्। आयोजकका अनुसार प्रतियोगितालाई निष्पक्ष, मर्यादित र गुणस्तरीय बनाउन अनुभवी तथा स्थापित व्यक्तित्वहरूलाई जिम्मेवारी दिइएको हो।

    त्यसैगरी कार्यक्रमकै विशेष आकर्षणका रूपमा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका संस्थापक अध्यक्ष, वरिष्ठ लोक तथा दोहोरी गायक तथा सर्जक अमर बिरही गुरुङको विशेष सांगीतिक साँझ समेत आयोजना हुने भएको छ। गुरुङको प्रस्तुतीले कार्यक्रमलाई अझ भव्य, आकर्षक र सांगीतिक रूपमा विशेष बनाउने अपेक्षा गरिएको सचिव दिपक कंडेल ‘सफल’ले बताए।

    आगामी जुन १४ तारिख आइतबार टोकियोको मेगुरो कुमिन सेन्टरमा आयोजना हुने कार्यक्रम दिउँसो १२ बजेदेखि सुरु हुनेछ। “हाम्रो अभियान, लोकसंस्कृतिको संरक्षण, श्रष्टाको सम्मान र नवप्रतिभाको प्रोत्साहन” भन्ने मूल नारासहित आयोजना हुन लागेको यस प्रतियोगिताले जापानमा रहेका नेपाली समुदायबीच नेपाली लोकसंस्कृति, कला र संगीतको प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास लिइएको छ।

    आयोजकले सार्वजनिक गरेको तालिकाअनुसार प्रतियोगिताको टप १० नतिजा मे २४ तारिख आइतबार सार्वजनिक गरिनेछ भने सेमिफाइनल चरणमा प्रवेश गर्नेहरूको नामावली मे ३१ तारिख आइतबार सार्वजनिक गरिनेछ। सेमिफाइनलमा फिजिकल अडिसन तथा लाइभ बाजासहितको प्रस्तुति रहने जनाइएको छ।

    प्रतियोगितामा प्रथम हुनेलाई १ लाख १ हजार येन, द्वितीयलाई ५१ हजार येन, तृतीयलाई ३१ हजार येन तथा सान्त्वना पुरस्कारस्वरूप ११ हजार येन प्रदान गरिने आयोजकले जनाएको छ।

    प्रतिष्ठान जापान शाखाका अध्यक्ष समुन्द्र राज पौडेलले जापानमा रहेका नेपाली प्रतिभाहरूलाई अन्तर्राष्ट्रिय मञ्च प्रदान गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताउँदै सम्पूर्ण नेपाली समुदायलाई कार्यक्रम सफल बनाउन सहयोग र सहभागिताका लागि आग्रह गरेका छन्।

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार