हिन्दू धर्मावलम्बीहरूको महान पर्व महाशिवरात्रिको अवसरमा जापानमा रहेका नेपाली समुदायले धार्मिक आस्था, सांस्कृतिक पहिचान र सामाजिक सेवाको भावनासहित विविध धार्मिक कार्यक्रम गर्ने भएका छन्। विभिन्न नेपाली संघ–संस्थाहरूको पहलमा शिव पूजा, रुद्राभिषेक, शिवपुराण कथा वाचन, भजन–कीर्तन तथा महाशिवरात्रि विशेष मेला गर्न लागेका छन्।
महाशिवरात्रि-२०२६ को अवसरमा पर्वत समाज जापानले “मानव सेवा सहयोगार्थ,अशक्त तथा असहायहरूको सेवामा समर्पित” गर्ने उद्देश्यसहित तीन दिने महाशिवरात्रि विशेष मेला तथा शिवपुराण कार्यक्रम गर्नलागिरहेको अध्यक्ष राम प्रसाद बाँस्तोलाले बताउनुभयो। उक्त कार्यक्रम फेब्रुअरी १४, १५ र १६ तारीख टोकियोस्थित बाराकाडे गुड टाइम्समा हुनेछ। कार्यक्रममा कथा वाचक पण्डित गिरीराज पौडेलद्वारा शिव महापुराण कथा वाचन गरिनेछ भने धर्म, कर्म र मानव सेवाको महत्त्वबारे प्रवचन प्रस्तुत गरिनेछ। साथै, सामूहिक भजन–कीर्तन तथा विविध धार्मिक–सांस्कृतिक कार्यक्रमहरू समावेश गरिएका छन्। 
त्यस्तै टोकियोमै फेब्रुअरी १५ तारिख बिहुँकोट समाज जापानले पनि महाशिवरात्रि पर्व विशेष कार्यक्रम गर्ने भएको छ। टेकियोको कामातास्थित चौतारो रेष्टुरेन्टमा कार्यक्रम आयोजना हुनलागेको छ । कार्यक्रममा गुरु हरि रिजालको उपस्थितिमा शिव महिमा सम्बन्धी प्रवचन तथा वैदिक विधिअनुसार शिव पूजा सहित रुद्राभिषेक गरिने अध्यक्ष टिकाराम कँडेलले जानकारी दिनुभयो। धौलागिरी भजन समूह जापानको बिशेष भजन–कीर्तन रहने गरि तयारि थालिएको पनि अध्यक्ष कँडेलले बताउनुभयो।
भने उता ओसाकामा पनि बिहुँकोट समाज जापान अन्तरगत कान्साई क्षेत्रीय समितिले फेब्रुअरी १५ शिवरात्रिकै दिनमा महाशिवरात्रि विशेष कार्यक्रम सञ्चालन गर्ने जनाएको छ। कार्यक्रममा शिव पूजा, रुद्राभिषेक, भजन–कीर्तन तथा भक्तजनहरूका लागि प्रसादको व्यवस्था गरिएको छ।
उता ओकायामा नेपाली समाज जापानले पनि महाशिवरात्रि पर्वको अवसरमा फेब्रुअरी १५ नै ओकायामा सिमोनाकानो स्थित माता रेष्टुरेन्टमा पूजापाठ तथा भजन–कीर्तन कार्यक्रम गर्नलागेको आयोजकले जनाएका छन्।
जापानका विभिन्न स्थानमा सञ्चालन हुने यी कार्यक्रमहरूले प्रवासमा रहेका नेपालीहरूलाई धर्म, संस्कृति र परम्परासँग जोड्दै आपसी सद्भाव, सामाजिक सहयोग र सामुदायिक एकताको भावना अझ मजबुत बनाउने विश्वास व्यक्त गरिएको छ। आयोजक संस्थाहरूले जापानवासी सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई कार्यक्रममा सहभागी भई पुण्य लाभ लिन अनुरोध गरेका छन्।
(2).gif)
