पर्वत समाज जापानले महाशिवरात्रि पर्व–२०२६ को पावन अवसरमा “मानव सेवा सहयोगार्थ” महाशिवरात्रि मेला तथा तीन दिने शिवपुराण आयोजना गर्ने भएको छ।
फेब्रुअरी १४, १५ र १६ तारिख शिनओकूबो स्थित बारकाडेमा त्रिदिवसीय कार्यक्रम सहित सञ्चालन हुने बताईएको छ। कार्यक्रममा शिवपुराण वाचन, टुक्का लोक भजन प्रतियोगिता, साथै विविध धार्मिक तथा सांस्कृतिक प्रस्तुतिहरू समावेश गरिने महासचिव बिमल प्रसाद न्यौपानेले बताउनुभयो ।
अध्यक्ष बाँस्तोलाका अनुसार यस विशेष शिवपुराण वाचनका लागि कथावाचक गुरु पण्डित गिरिराज पौडेलको प्रमुख वाचकका रूपमा उपस्थिति रहने अध्यक्ष राम प्रसाद बाँस्तोलाले जानकारी दिनुभयो।
पण्डित पौडेल नेपाली धार्मिक वाङ्मय, वेद–पुराण तथा सनातन दर्शनका गहिरो अध्येता हुनुका साथै सरल, सजीव र व्यवहारिक शैलीमा धर्मकथा प्रस्तुत गर्ने सुप्रसिद्ध कथावाचकका रूपमा परिचित हुनुहुन्छ। उहाँका प्रवचनहरूले धार्मिक ज्ञान मात्र होइन, नैतिक मूल्य, जीवन दर्शन र मानवीय संवेदनालाई समेत उजागर गर्दै आएका छन्।
नेपाल तथा विभिन्न मुलुकहरूमा शिवपुराण, भागवत, रामकथा लगायतका धार्मिक प्रवचनमार्फत व्यापक जनसमुदायमा आध्यात्मिक चेतना फैलाउँदै आउनुभएका गुरु पौडेलको उपस्थितिले यस कार्यक्रमको गरिमा थप उचाइमा पुग्ने विश्वास आयोजकले व्यक्त गरेको छ।
अध्यक्ष बाँस्तोलाले महाशिवरात्रिको धार्मिक तथा पवित्र अवसरलाई केन्द्रमा राखी आयोजना गर्न लागिएको यस कार्यक्रममार्फत जापानमा रहेका नेपाली समुदायलाई आध्यात्मिक रूपमा एकताबद्ध गर्दै अशक्त तथा असायहरूको सेवामा सहयोग पुर्याउने उद्देश्य रहेको स्पष्ट पार्नुभएको छ।
जापानवासी सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई महाशिवरात्रिको यस पावन अवसरमा आयोजना हुने धार्मिक तथा सामाजिक कार्यक्रममा उपस्थित भई सहभागिता जनाउन कार्यक्रम संयोजक सुमन सुबेदिले अनुरोध गर्नुभएको छ।
(2).gif)
