जापानमा रहेका नेपाली समुदायलाई लक्षित गर्दै बागलुङ समाज जापानको आयोजनामा हुन लागेको दोस्रो चैत्राष्टमी मेला (चैते दशैं)–२०२६ को तयारी तीव्र पारिएको छ।
२०२६ मार्च २१ र २२ तारिख टोकियोस्थित मिता लाइनको ओनारिमोन स्टेशन नजिकै रहेको शिबा पार्कमा बिहान १० बजेदेखि साँझ ६ बजेसम्म सञ्चालन हुनेछ।
मेलामा भलिबल प्रतियोगिता, लाइभ लोकदोहोरी, लठो तान्ने प्रतियोगिता, भाँकी प्रदर्शनी, ऐतिहासिक तथा धार्मिकता झल्को प्रस्तुतीसंगै विविध सांस्कृतिक कार्यक्रम, राष्ट्रिय कलाकारहरूको प्रस्तुति, साथै नेपाली खानाका परिकार र बागलुङ जिल्लामा उत्पादित सामग्रीहरूको प्रदर्शनी तथा बिक्री रहने बागलुङ समाज जापानका अध्यक्ष गुरु प्रसाद सापकोटाले जानकारी दिनुभयो।
मेलाअन्तर्गत सञ्चालन हुने चौथो रनिङ कप पुरुष भलिबल प्रतियोगिता भने २०२६ मार्च ४ तारिख साईतामास्थित टोडा स्पोर्ट्स सेन्टरमा आयोजना हुने खेलकुद संयोजक बसन्त थापाले बताउनुभयो। भलिबल प्रतियोगितामा प्रथम पुरस्कार ३ लाख येन, द्वितीय २ लाख येन र तृतीय १ लाख येन तोकिएको छ भने टिम दर्ता शुल्क ४० हजार येन निर्धारण गरिएको छ। साथै, विशेष आकर्षणका रूपमा महिला भलिबल प्रतियोगिता पनि आयोजना गरिनेछ, जसमा प्रथम पुरस्कार ५० हजार येन र द्वितीय पुरस्कार ३० हजार येनरहेको छ। महिला तर्फ टिम दर्ता शुल्क निःशुल्क रहने जनाइएको छ।

यसैबीच, मेलाका अवसरमा स्टल बुकिङ पनि खुला गरिएको छ। मेलामा सहभागी भई नेपाली परिकार, हस्तकला तथा मौलिक सामग्री, साथै व्यापारिक तथा प्रचारात्मक सामग्री प्रदर्शन तथा बिक्री गर्न इच्छुकहरूले सम्पर्क गर्न स्टल व्यवस्थापन संयोजक तथा बागलुङ समाज जापानका उपाध्यक्ष राजु केसीले आग्रहगर्नुभएको छ।
कार्यक्रमबाट संकलित कुल रकममध्ये निश्चित प्रतिशत बागलुङ जिल्लाभित्रका शिक्षा तथा स्वास्थ्य क्षेत्रमा आवश्यकताका आधारमा सहयोग गर्ने मानवीय लक्ष्य लिइएको बागलुङ समाज जापानले जनाएको छ। यस सम्बन्धमा आर्थिक संयोजक तथा समाजका कोषाध्यक्षले, उक्त अभियानलाई चरणबद्ध रूपमा अघि बढाउँदै अब नेपाली समुदायसँग हातेमालो गर्दै सहकार्यका लागि अघि बढ्न लागेको बताउँदै सबै संघ–संस्था, व्यवसायी तथा शुभेच्छुक महानुभावहरूलाई आर्थिक तथा नैतिक सहयोग गर्न हार्दिक अनुरोध गर्नुभएको छ।
बागलुङ समाज जापानले धार्मिक, सांस्कृतिक तथा खेलकुद गतिविधिमार्फत जापानमा रहेका नेपाली समुदायबीच आपसी एकता, सद्भाव र सहकार्यलाई थप मजबुत बनाउने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएकोले जापानवासी नेपालीहरूलाई साथ सहयोग र उपस्थितिका लागि महासचिव सचिन आचार्यले आग्रह गर्नुभएको छ।
(2).gif)
