म्याग्दी प्रवासी नेपाली संघ(मोना) अन्तर्राष्ट्रिय कार्यकारी समितिको अध्यक्षमा ददिवल खड्का सर्वसम्मत निर्वाचित हुनुभएको छ । म्याग्दीको बेनीमा शनिवार सम्पन्न मोनाको पाँचौं अन्तर्राष्ट्रिय महाधिवेशनले खड्कालाई अध्यक्षमा सर्वसम्मत रुपमा निर्वाचित गरेको हो ।
म्याग्दीको अन्नपूर्ण गाउँपालिका ६ घार पुख्र्यौली घर भई हाल जापानमा रही सफल ब्यवसायी तथा समाजसेविको छवी बनाउनुभएका खड्का यसअघि मोनाको वरिष्ठ उपाध्यक्ष हुनुहुन्थ्यो । मोनाको नेतृत्वका लागि उम्मेदवारी दर्ता गराउनुभएका सल्लाहकार मिम पुर्जाले अधिबेशनको बन्द सत्रमा अध्यक्ष पदमा खड्कालाई सघाउन तयार भएपछि निर्वाचन समितिले सर्वसम्मत नेतृत्व चयन भएको घोषणा गरेको थियो । जापानमै रही ब्यवसाय सँगै सामाजिक कार्यमा सक्रिय दिपक कार्की उपाध्यक्ष, बिष्णु बानिया महिला उपाध्यक्ष, संगीता थापा महिला सचिब तथा सचिन श्रेष्ठ युवा संयोजकमा सर्वसम्मत चयन हुनुभएको छ ।
अधिवेशनबाट नवनिर्वाचित अध्यक्ष खड्का सहितको नयाँ कार्यसमितिलाई निर्वाचन समितिका संयोजक एवम् मोनाका संस्थापक अध्यक्ष प्रकाश पुनले पद तथा गोपनीयताको सपथ ग्रहण गराउनुभएको छ । नवनिर्वाचित अध्यक्ष खड्काले मोनालाई अन्य मुलुकहरुमा समेत विस्तार गर्ने र विदेशमा आर्जन गरेको सिप, पुँजी र प्रविधिलाई जिल्लाको विकास र समृद्धिमा सघाउन लगानीको रुपमा भित्र्याउन भुमिका खेल्ने प्रतिबद्धता जनाउनुभएको छ ।
विश्वका विभिन्न २८ मुलुकमा मोना मार्फत म्याग्देलीहरु संगठीत बनेका छन् । जिल्लाको सामाजिक र मानवीय सेवाको क्षेत्रमा प्रवासी म्याग्देलीहरुले सहयोग गर्दै आएका छन । महाधिवेशनको अवसरमा मोनाले पालिका स्तरीय महिला पुरुष भलिबल र बेनी लभ्लिहिल मिनि म्याराथन प्रतियोगिता समेत सम्पन्न गरेको छ । नवनिर्वाचित अध्यक्ष ददिवल खड्का एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषदको २०२३-२०२५ कार्यकालका लागि सह-कोषाध्यक्ष पदको उम्मेदवार समेत हुनुभएको छ ।
(2).gif)
