जापान सरकारले सन् २००८ मा राजधानी टोकियोको आकिहावरा स्थित सपिङ डिस्ट्रिक्टमा सवारी दुर्घटना पश्चात छुरा प्रहार गरी सात जनाको हत्या गर्ने एक ३९ वर्षीय पुरुषलाई मृत्युदण्ड दिएको छ ।ती तोमोहिरो कातोले गरेको हत्या जापानको पछिल्लो इतिहासमा भएका सबैभन्दा भयावह अपराधमध्ये एक भएको बताइएको छ ।
२५ वर्षको उमेरमा उनले बटुवाहरूको भिडमा जथाभाबी ढंगले ट्रक चलाएर तीनजनाको ज्यान लिएका थिए । त्यसलगत्तै धारिलो हतियार प्रयोग गरी उनले अन्य चारजनाको ज्यान लिनुका साथै थप आठजनालाई घाइते बनाएका थिए ।
उनलाई प्रहरीले घटनास्थलबाटै गिरफ्तार गरेको थियो । अदालतमा मुद्दाको सुनवाइको दौरान अपराध स्वीकार्दै उनले अनलाइनमार्फत आफूलाई दिइने गरेको मानसिक यातनाका कारण आफू आक्रोशित र विक्षिप्त भएको बताएका थिए ।
यस हत्याकाण्डले जापानी समाजमा बारम्बार घट्ने हत्याकाण्ड, अनलाइनको प्रभाव र सरकारले युवा जगतलाई मानसिक स्वास्थ्यमा सहयोग गर्न नसकेको विषयमा विवाद चर्काएको थियो । यस घटनापछि जापान सरकारले साथमा छुरा बोक्ने कानुन पनि कडा बनाएको थियो ।
कातोलाई टोकियो हिरासत केन्द्रमा फाँसी दिइएको हो । सन् २०१५ मा उनले मृत्युदण्डबाट बच्न गरेको अपिल अदालतले अस्वीकार गरेको थियो । एक धनी परिवारमा जन्मेका तथा एक प्रतिष्ठित विद्यालयबाट स्नातक गरेका उनी विश्वविद्यालयको प्रवेश परीक्षामा असफल भएका थिए ।
(2).gif)
