नेपालले बङ्गलादेशमा सम्पन्न एभिसी एसियन सिनियर सेन्ट्रल जोन पुरुष तथा महिला भलिबल च्यालेन्ज कप अन्तर्गत महिलातर्फ उपाधि जितेको छ । मङ्गलबार मिरपुरस्थित शाहिद शुरवार्दी इन्डोर स्टेडियममा भएको फाइनलमा उज्वेकिस्तानलाई ३–२ को सेटमा हराउँदै नेपालले उपाधि रक्षा गरेको हो ।
नेपालले उज्वेकिस्तानमाथि २६–२४, २४–२६, २५–१५, २२–२५, १५–११ को जित निकालेको हो । नेपाली महिला टोलीले लगातार दोस्रो पटक उपाधि जितेको हो । यसअघि सन् २०१९ मा बङ्गलादेशमै भएको प्रतियोगितामा नेपाल लिग चरणदेखि एक सेट पनि नगुमाई च्याम्पियन बनेको थियो ।
नेपालले लिग चरणमा लगातार पाँच जित निकाल्दै फाइनल यात्रा तय गरेको थियो । ६ देश सहभागी प्रतियोगिताको लिग चरणको पहिलो खेलमा नेपालले श्रीलङ्कालाई ३–२, दोस्रो खेलमा माल्दिभ्सलाई ३–० र तेस्रो खेलमा आयोजक बङ्गलादेशलाई ३–० को सोझो सेटमा हराएको थियो ।
चौथो खेलमा नेपालले उज्वेकिस्तानलाई ३–० र पाँचौँ खेलमा किर्गिस्तानलाई ३–० को सोझो सेटमा स्तब्ध बनाएको थियो । उज्वेकिस्तान भने लिग चरणमा दोस्रो बन्दै फाइनलमा पुगेको थियो ।
पुरुषतर्फ नेपालले आजै तेस्रो स्थानका लागि उज्वेकिस्तानसँग नै प्रतिस्पर्धा गर्ने छ । पुरुषतर्फ आयोजक बङ्गलादेश, माल्दिभ्स, नेपाल, श्रीलङ्का र उज्वेकिस्तान गरी ६ देश सहभागी थिए । पुरुषतर्फ नेपालले लिग चरणमा दुई जित र दुई हार खेपेको छ ।
(2).gif)
