मंगलबार, भाद्र ३० गते २०८३ Tuesday, 15 Sep, 2026
Follow Us on

नारायणीको किनारमा ७ लाख उतारेको दाबी, अोलिकै बर्चस्व, यसरी हुँदैछ सेटलमेन्ट ।

गण्डकी पोष्ट मंसिर १०, २०७८ शुक्रबार
  • 601
    SHARES
  • नारायणीको किनारमा ७ लाख उतारेको दाबी, अोलिकै  बर्चस्व, यसरी हुँदैछ सेटलमेन्ट ।

    नेकपा एमालेको १० औं राष्ट्रिय महाधिवेशन सुरु हुने अघिल्लो दिनसम्म पनि पदाधिकारीहरुको सम्भावित खाका स्पष्ट भइसकेको छैन । केही नेताहरुले उम्मेदवारी घोषणा गरे पनि धेरै नेताहरु अध्यक्ष केपी ओलीको ‘ग्रीन सिग्नल’ पर्खाइमा छन् ।

    images

     

    एमालेमा संस्थापन पक्षधर, १० बुँदे पक्षधर र पूर्वमाओवादीका नेताहरुबीच त्रिपक्षीय सन्तुलन मिलाउनुपर्ने भएकाले पदाधिकारी चयनको विषय पेचिलो बनेको हो ।

     

    स्रोतका अनुसार अध्यक्ष ओली माधव नेपाल समूह छोडेर एमालेमा बसेका १० नेताहरुमध्ये भिम रावल र घनश्याम भुसालबाहेक अरुलाई समेट्न तयार भएका छन् । रावल र भुसालप्रति भने ओली अनुदार देखिएको स्रोतले बताएको छ ।

     

     

     

    ‘१० बुँदे पक्षधर अरु नेताहरुको कुनै न कुनै हिसाबले व्यवस्थापन हुन्छ,’ स्रोतले भन्यो, ‘रावल र भुसालको हकमा चाहिँ उनीहरुले चुनाव नै लड्नु भन्ने अध्यक्षको आशय देखिएको छ ।’

     

    रावलले ओलीसँग हालकै उपाध्यक्ष पदको निरन्तरता हुने सुनिश्चितता माग गरेका थिए । यस्तै, घनश्यामले कम्तिमा उपमहासचिवको इच्छा राखेका थिए । तर, उनीहरु दुवैको इच्छा पूरा गर्न ओली तयार नभएपछि पदाधिकारीमा चुनाव हुने निश्चित भएको छ ।

     

    १० बुँदे पक्षधर नेताहरु अष्टलक्ष्मी, सुरेन्द्र, गोकर्ण विष्ट लगायतका नेताहरुले आफू निकटका कार्यकर्तालाई एमालेमा रोक्न सफल भए । तर, रावल–भुसाल निकटस्थहरु अधिकांस माधव नेपालको नेकपा एकीकृत समाजवादी पार्टीमा गएका छन् । त्यसैले पनि ओलीले उनीहरुप्रति कठोरता अपनाएको स्रोतको भनाइ छ । साथै रावल र भुषाललाई आफ्नो आलोचकका रुपमा बुझेकाले पनि उनीहरुको व्यवस्थापनमा ओली सकारात्मक छैनन् ।

     

    ओलीबाट ग्रीन सिग्नल नपाएपछि रावल र भुसालसँग चुनाव लड्नुको विकल्प रहेन । रावलले अध्यक्षमा उम्मेदवारी घोषणा गरिसकेका छन् । भुसाल भने अझै खुलेका छैनन् । उनले अध्यक्षबाहेकको पदमा उम्मेदवारी दिन सक्ने बुझिएको छ ।

     

    १० बुँदे पक्षधर अरु नेताहरुको व्यवस्थापनमा भने ओली लचिलो छन् । जसअनुसार अष्टलक्ष्मी शाक्यले उपाध्यक्षमा निरन्तरता पाउने छिन् ।

     

    यस्तै, युवराज ज्ञवालीलाई अनुशासन आयोगको अध्यक्ष बनाउने ओलीको तयारी छ । अर्का नेता सुरेन्द्र पाण्डेले महासचिव वा त्योभन्दा माथिको दावी गरेका छन् । ओलीले सकभर उनलाई सचिवमा मनाउन चाहेका छन् । तर, पाण्डे यसअघिको महाधिवेशनमा नै महासचिवमा उठेर पराजित भएकाले सचिवमा सहमत हुने सम्भावना छैन । पाण्डेलाई पनि कुनै पदमा सेटलमेन्ट गर्ने मुडमा ओली छन् ।

     

    १० बुँदे पक्षधर अन्य दुई नेता योगेश भट्टराई र गोकर्ण विष्टले सचिवमा नै निरन्तरता पाउने छन् ।

     

    ओली निकटहरु एउटै पदमा नलड्ने

     

    एमाले पदाधिकारीमा संस्थापन पक्षबाटै धेरै आकांक्षीहरु देखिएका छन् । महासचिवमा ओली निकटस्थ दुई नेता विष्णु पौडेल र शंकर पोखरेलको चर्चा छ । तर, स्रोतका अनुसार उनीहरु एउटै पदका लागि प्रतिस्पर्धा गर्ने छैनन् ।

     

    ‘नेकपाको विवादयता ओलीलाई साथ दिइरहेका नेताहरु एउटै पदमा उठ्दैनन्,’ स्रोतले भन्यो, ‘त्यसैले ओली पक्षधरहरुबीच आपसी भिडन्तको सम्भावना छैन ।’

     

    पौडेल र पोखरेलमध्ये एकजना महासचिव हुने पक्का छ । अर्कालाई उपाध्यक्षमा सेटलमेन्ट गर्ने ओलीको तयारी छ । यद्यपी उनीहरु दुवै महासचिवका आकांक्षी हुन् । यस्तै, उपमहासचिवमा ओलीले प्रदीप ज्ञवालीलाई उकाल्न चाहेका छन् ।

     

    यता वरिष्ठ उपाध्यक्षमा पनि ओली निकट दुई नेता ईश्वर पोखरेल र सुवास नेम्वाङको चर्चा छ । तर, उनीहरु पनि एउटै पदमा उम्मेदवार नबन्ने स्रोत बताउँछ । पोखरेल हाल महासचिव छन् । दुई कार्यकाल महासचिव भइसकेकाले उनी फेरि महासचिव बन्न सक्दैनन् । त्यसैले उनको चाहना वरिष्ठ उपाध्यक्षमा छ । नेम्वाङले पनि वरिष्ठ उपाध्यक्षकै चाहना राखेका छन् ।

     

    नेकपाको विभाजनपछि एमालेमै रहेका पूर्वमाओवादी नेताहरुको सेटलमेन्ट पनि पनि ओलीका लागि अर्को संवेदनशील विषय हो । उनीहरुमध्ये रामबहादुर थापा बादल, टोपबहादु्र रायमाझी र लेखराज भट्ट पदाधिकारीका आकांक्षी हुन् ।

     

    उनीहरु तीनैजना अध्यक्ष ओलीमा नै निर्भर छन् । एमालेको संस्थापन पक्षधर नेताहरुलाई चुनौति दिने गरी उनीहरुले उम्मेदवारी नदिने स्रोतको भनाइ छ ।

     

    एमालेले आफ्नो विधान परिमार्जन गर्दै अध्यक्षसहित १५ जना पदाधिकारीको व्यवस्था गरेको छ । हालको विधानअनुसार पार्टीमा एक वरिष्ठ उपाध्यक्ष, चार उपाध्यक्ष, एक महासचिव, एक उपमहासचिव र सात जना सचिव रहनेछन् । सचिव पदमा अत्यधिक आकांक्षी देखिएका छन् ।

     

    पदाधिकारीमा सहमति जुटाउन अध्यक्ष ओलीले आजै राति नेताहरुसँग अनौपचारिक छलफल गर्दैछन् ।

     

    के छ रावलको रणनीति ?

     

    अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका रावल यदि ओलीले ग्रीन सिग्नल दिए अझै पनि ब्याक हुन सक्छन् । तर, त्यो सम्भावना क्षिण छ । रावल निकट नेताका अनुसार ओलीले रावललाई समेट्नै चाहेका छैनन् ।

     

    ‘उम्मेदवारी घोषणा गरेको यत्रो दिनसम्म पनि यो विषयमा कुनै छलफल भएको छैन,’ ती नेताले भने, ‘छलफल र सहमति गरे उहाँ ब्याक हुनुहोला, नत्र हुनुहुन्न । निर्वाचन लड्नुहुन्छ ।’

     

    नवौँ महाधिवेशनमा उपाध्यक्षमा निर्वाचित रावलले दशौँ महाधिवेशनमा अध्यक्षमा उम्मेदवारी दिनु अस्वभाविक होइन । तर, ओलीलाई जितेर अध्यक्ष निर्वाचत हुने कुरामा रावल स्वयम् आशावादी छैनन् । कतै नसमेटिने भएकैले बाध्य भएर उम्मेदवारी दिएको उनी निकट स्रोत बताउँछ ।

     

    रावल निकट नेताले भने, ‘उहाँ फेरी पनि उपाध्यक्षमै भए पनि बस्न सक्नुहुन्थ्यो तर, पार्टी अध्यक्षबाट उहाँलाई त्यहाँ पनि समेट्ने सङ्केत देखिएन त्यही भएर उहाँले उम्मेदवारी दिनुभएको हो ।’

     

    अध्यक्षमा सहमति नभए ओली र रावलको निर्वाचन हुने छ । अध्यक्ष केपी ओलीले उठाएका उम्मेदवार हेरेर रावल पक्षले अन्य पदमा उम्मेदवार बनाउने योजना बनाएको ती नेताको भनाइ छ ।

     

    ‘उताबाट उम्मेदवार हेरेर हामी उम्मेदवार तयार गर्छौ,’ उनले भने, ‘त्यहाँ असन्तुष्ट रहेका नेता पनि हाम्रो उम्मेदवार हुन सक्नु हुन्छ ।’

     

    सके ओली पक्षकै नेतालाई तानेर टिममा राख्ने नत्र भुसाललाई वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दिन लगाउने योजनामा रावल निकट नेताहरू लागिरहेका छन् । यद्यपि, एमाले विधानले घोषित रुपमा महाधिवेशनमा प्यानल बनाउन भने निषेध गरेको छ ।

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार