तीज नजिकिँदै गर्दा गायक तथा संगीतकार रामकृष्ण बम मल्लको नयाँ तीज गीत ‘तिन बहिनी’ सार्वजनिक भएको छ। पिरो क्रिएसनको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको गीतमा चेलीको माया, माइतीको सम्झना र गाउँघरको जीवनलाई सरल रूपमा प्रस्तुत गरिएको छ।
विवाहपछि कर्मघर पुगेका तिन दिदीबहिनीले तीजका बेला माइती सम्झँदाको पीडा गीतको मुख्य विषय हो। आमाको सम्झना, बाल्यकालका दिन र माइतीप्रतिको माया गीतको कथामा समेटिएको छ। छोरालाई पढ्न सहर पठाउने तर छोरीलाई घरको काममा मात्र सीमित गर्ने पुरानो सोचलाई पनि गीतले उठाएको छ।
गीतको भिडियोमा वरिष्ठ कलाकार रश्मी भट्ट आमाको भूमिकामा देखिएकी छन् भने मेलिना ठकुरी, यशु भट्टराई र एरोना मल्लले तिन बहिनीको भूमिका निभाएका छन्। उनीहरूको अभिनयमार्फत गाउँघरको जीवन, पारिवारिक जिम्मेवारी र माइतीप्रतिको भावनालाई प्रस्तुत गरिएको छ।
रमेश बिजीको शब्द रहेको गीतमा रामकृष्ण बम मल्लको संगीत तथा स्वर छ। महिला स्वरमा तनुजा शाही, पार्वती आचार्य र आरती परियारले साथ दिएका छन्। तिन जना गायिका नै राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान जापान शाखाले आयोजना गरेको पहिलो ‘लोकतारा’ प्रतियोगिताका फाइनलिस्टसमेत हुन्। उनीहरूको सामूहिक स्वरले गीतलाई थप आकर्षक बनाएको छ। गीतको संगीत संयोजन विश्वास नेपालले गरेका छन्।
विष्णु शर्माको निर्देशनमा तयार भएको भिडियोमा ग्रामीण परिबेश, गाउँघर, डाँडाकाँडा र परम्परागत चुलो–चौकाजस्ता दृश्यले गीतमा नेपाली गाउँको झल्को दिएको छ। सुरेश श्रेष्ठको छायांकन रहेको भिडियोमा परिवारबीचको माया र दूरीलाई पनि देखाइएको छ।
पछिल्लो समय तीज गीतमा रमाइलो र भड्किलो प्रस्तुति बढिरहेका बेला ‘तीन बहिनी’ले भने चेली र माइतीको सम्बन्ध, आमाको माया र तीजको भावनालाई केन्द्रमा राखेको छ। सरल शब्द, मौलिक लोकलय र पारिवारिक कथावस्तुका कारण गीतले तीज गीतको भीडमा आफ्नो छुट्टै पहिचान बनाउन खोजेको देखिन्छ।
(2).gif)
