नेपाली महिलाहरूको महान् पर्व हरितालिका तीज नजिकिँदै गर्दा परदेशमा रहेका नेपाली चेलीहरूको मन छुने नयाँ तीज गीत ‘जुरेन साइत’ सार्वजनिक भएको छ। जापानबाट नेपाली लोकसंगीतमा निरन्तर सिर्जना गर्दै आएकी इन्दिरा केसीले यसपटक पनि मार्मिक तीज गीतमार्फत परदेशी चेलीहरूको पीडा र माइतीको सम्झनालाई प्रस्तुत गरेकी छन्।
परदेश पसेदेखि तीजको अवसरमा चाहेर पनि माइतीघर पुग्न नसक्ने चेलीहरूको भावनालाई केन्द्रमा राखेर तयार पारिएको ‘जुरेन साइत’ गीतमा परदेशमा बस्दाको एक्लोपन, माइतीको सम्झना र तीजमा घर फर्किन नपाउँदाको पीडालाई भावनात्मक रूपमा प्रस्तुत गरिएको छ।
गीतको भिडियोमा इन्दिरा केसी र कृष्ण केसीले अभिनय गरेका छन्। गीतमा इना बेल्बासेको मिठासपूर्ण स्वर रहेको छ। गीतका सर्जकका रूपमा कृष्ण खत्री र ऋषि परिवार रहेका छन् भने भिडियोको छायांकन तथा निर्देशन गोरे थकालीले गरेका छन्।
परदेशी जीवनको वास्तविक भोगाइ र तीजसँग जोडिएको भावनात्मक पक्षलाई समेटिएको यो गीतले विशेषगरी विदेशमा रहेका नेपाली महिला तथा तीजमा माइतीघर जान नपाएका चेलीहरूको मन छुने अपेक्षा गरिएको छ।
‘जुरेन साइत’ गीत कृष्ण खत्रीको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ। गीत सार्वजनिक भएसँगै दर्शक–श्रोताबाट सकारात्मक प्रतिक्रिया प्राप्त भइरहेको छ।
(2).gif)
