नेपाली लोकसंगीत क्षेत्रमा नयाँ लोकदोहोरी गीत ‘खरको कटेरी’ सार्वजनिक गरिएको छ। गायक सूर्य खड्का र गायिका रञ्जिता विश्वकर्माको स्वरमा रहेको उक्त गीत गायक सूर्य खड्काको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो।
शिव अखेलीको शब्द तथा संगीतमा तयार पारिएको यस गीतले नेपाली गाउँघरको परिवेश, प्रेम र लोकसंस्कृतिको भावलाई समेटेको छ। लोकलयमा आधारित गीतमा मौलिक नेपाली भाका, ग्रामीण जीवनशैली तथा समाजका विविध भावनाहरूलाई समेटिएको निर्माण पक्षले जनाएको छ।
गीतको म्युजिक भिडियोमा कलाकारहरूको जीवन्त अभिनय तथा आकर्षक दृश्य संयोजनले गीतलाई थप उत्कृष्ट बनाएको देखिन्छ। ग्रामीण परिवेशमा आधारित कथावस्तुमार्फत नेपाली समाजको संस्कार, परम्परा र जीवनशैलीलाई चित्रण गर्ने प्रयास गरिएको छ।
परदेशी गायकको उपमा पाएका खड्का प्रवासमै रहेर नेपाली लोकसंगीतको प्रवर्द्धनमा सक्रिय रहँदै आएका छन्। प्रवासी भूमिमा, विशेषगरी जापानमा बसोबास गर्दै आएका उनले विभिन्न देशहरूमा पुगेर सांगीतिक प्रस्तुति दिँदै नेपाली कला र संस्कृतिलाई अन्तर्राष्ट्रिय स्तरमा परिचित गराउँदै आएका छन्।
सार्वजनिक भएको छोटो समयमै गीतले सामाजिक सञ्जाल तथा डिजिटल प्लेटफर्महरूमा दर्शक–श्रोताको ध्यान आकर्षित गर्न थालेको छ। पछिल्लो समय नेपाली लोकदोहोरी संगीतमा नयाँ सिर्जनाहरू सार्वजनिक हुने क्रम बढिरहेका बेला ‘खरको कटेरी’ले पनि श्रोतामाझ सकारात्मक प्रतिक्रिया पाउने अपेक्षा गरिएको छ।
(2).gif)
