गल्कोट स्पोर्ट क्लब टोकियोको छैटौँ अधिवेशन डिसेम्बर ९ गते टोकियोको ओकुबोस्थित सोलमारी मुरा हलमा भव्य रूपमा सम्पन्न भएको छ। अधिवेशनले आगामी कार्यकालका लागि रमेश कुमार खत्रीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको निर्वाचन समितिका संयोजक लक्ष्मण कार्कीले जानकारी दिए।
‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेल’ भन्ने मूल नारासहित सन् २०१५ मा स्थापना भएको क्लबले खेलकुदमार्फत स्वास्थ्य, अनुशासन र समुदायबीचको एकता सुदृढ गर्न निरन्तर सक्रिय रहँदै आएको छ। स्थापना कालदेखि नै सदस्य, सह–कोषाध्यक्ष, कोषाध्यक्ष र उपाध्यक्षजस्ता महत्वपूर्ण जिम्मेवारी सम्हाल्दै आएका खत्री यसपटक सर्वसम्मत रूपमा अध्यक्षमा चयन भएका हुन्।
स्थापनाकालदेखि नै टोकियोमा बसोबास गर्ने गल्कोटे तथा आम नेपाली खेलप्रेमीहरूको साझा मञ्चका रूपमा स्थापित क्लबले २०१५ देखि नै जापानमा नेपालको राष्ट्रिय खेल—भलिबललाई निरन्तर प्रवर्द्धन गर्ने पहिलो संस्थाका रूपमा परिचित रहँदै आएको छ। अधिवेशनबाट वरिष्ठ उपाध्यक्षमा भलिबल खेलाडी गणेश खत्री चयन भएको निर्वाचन समितिका सदस्य डिलाराम निउरेले बताए।
यसैगरी, १०औँ सिल्भर रनिङ कप खुला पुरुष भलिबल प्रतियोगिता समेत सफलतापूर्वक सम्पन्न गराएको क्लबको नयाँ कार्यसमितिको उपाध्यक्षमा दिनेश थापा, सुरज केसी, असिम बस्नेत र खिम निउरे रहेका छन् । महासचिवमा नारायण थापा,सचिवमापवन शर्मा र किरण गौतम,कोषाध्यक्षमा कुशल भण्डारी तथा सह–कोषाध्यक्षमा दिपक क्षेत्री (खिम) र पवन क्षेत्री सर्वसम्मत निर्वाचित भएका छन् । खेल संयोजकमा विजय बस्नेत र लेखा संयोजकमा झक बहादुर बस्नेत निर्विरोध हँदा सदस्यहरुमा प्रेम पुन, कृष्ण बोहरा, विशाल उप्रेती क्षेत्री, शिवराज कार्की, रोशन बस्नेत (बेलु), राजु क्षेत्री निर्वाचित भएका छन् ।निर्वाचन समितिमा संयोजक लक्ष्मण कार्की, डिलाराम निउरे, हिरा शेरचन, अमर भण्डारी तथा सदस्य–सचिव महेन्द्र साहानी रहेका थिए ।
अधिवेशन गल्कोट समाज जापानका अध्यक्ष रत्नसिंह बस्नेतको प्रमुख आतिथ्यतामा भएको थियो। विशेष अतिथिमा एनआरएनए जापानका अध्यक्ष सुवास लामीछाने, नेपाल भलिबल संघ जापानका अध्यक्ष सिद्धार्थ बस्नेत बुद्द, साथै जापानका विभिन्न सघं–संस्थाका अध्यक्षहरू तथा पत्रकार महासंघ जापानका अध्यक्ष रविन्द्र श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो। कार्यक्रमको अध्यक्षता क्लबका तत्कालीन अध्यक्ष दुर्गा खत्रीले गरेका थिए भने सञ्चालन महासचिव दिनेश थापाले गरेका थिए।
अधिवेशनले खेलकुद विकास तथा समुदायिक एकतामा संस्थाले पुर्याउँदै आएको योगदानलाई उच्च रूपमा मूल्यांकन गर्दै विभिन्न व्यक्तिहरूलाई सम्मान समेत प्रदान गरियो। साथै, विगतका गतिविधिहरूको मूल्याङ्कन–समीक्षा गर्दै आगामी कार्ययोजना अझ प्रभावकारी, व्यापक र परिणाममुखी बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गरिएको छ।

(2).gif)
