गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् जापानअन्तर्गत चिबा क्षेत्रीय समन्वय परिषद्ले आयोजना गर्न लागेको ‘दोस्रो चिबा नेपाल कल्चरल फेस्टिवल-२०२६’ रद्द गरेको छ।
नेपालमा भदौ १० गते आएको विनाशकारी बाढी तथा पहिरोका कारण ठूलो जनधनको क्षति हुनुका साथै सिंगो देश शोकमा रहेको अवस्थामा उत्सवमूलक कार्यक्रम आयोजना गर्नु उपयुक्त नहुने निष्कर्षसहित फेस्टिवल रद्द गर्ने निर्णय गरिएको आयोजकले जनाएको छ।
फेस्टिवल जापानको फुनाबाशीमा २०२६ सेप्टेम्बर १९ र २० तारिख आयोजना गर्ने तय गरिएको थियो। तर, नेपालमा उत्पन्न प्राकृतिक विपद् र त्यसबाट भएको मानवीय क्षतिलाई ध्यानमा राख्दै कार्यक्रम स्थगित मात्र नभई पूर्ण रूपमा रद्द गर्ने निर्णय गरिएको हो।
एनआरएनए चिबाको अगस्ट ३० मा बसेको नियमित बैठकले वर्तमान परिस्थितिमा फेस्टिवल आयोजना गर्नु उचित नहुने निष्कर्ष निकालेको थियो। जापानवासी नेपाली समुदाय, विभिन्न संघसंस्था, समाजसेवी, सल्लाहकार तथा एनआरएनए जापानसँग आवश्यक छलफल तथा सुझाव लिएपछि फेस्टिवल रद्द गर्ने निर्णय गरिएको विज्ञप्तिमा उल्लेख छ।
एनआरएनए चिबाका संयोजक राजन बाबु सुवेदी र सचिव सरोज गिरीद्वारा संयुक्त रूपमा जारी प्रेस विज्ञप्तिमा बाढी तथा पहिरोमा परी ज्यान गुमाउनेहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गरिएको छ। साथै, विपद्बाट प्रभावित नेपाली दाजुभाइ तथा दिदीबहिनीप्रति ऐक्यबद्धता, सहयोग र मानवीय संवेदना प्रकट गरिएको छ।
फेस्टिवलको तयारीमा प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग पुर्याउने प्रायोजक, सह–प्रायोजक, विभिन्न संघसंस्था, कलाकार, स्वयंसेवक, सञ्चारकर्मी, व्यवसायी तथा सम्पूर्ण जापानवासी नेपाली समुदायप्रति आयोजकले आभार व्यक्त गरेको छ।
कार्यक्रम रद्द गर्नुपरेको परिस्थितिलाई सबैले सकारात्मक रूपमा बुझिदिने विश्वाससमेत परिषद्ले व्यक्त गरेको छ।

(2).gif)
