गैरआवासीय नेपाली संघ (एनआरएनए) जापान, क्षेत्रीय समन्वय परिषद् चिबाको आयोजनामा सञ्चालन हुँदै आएको ‘एनआरएनए चिबा वेबिनार’ को चौथो शृङ्खला यही अगस्ट २२ गते शनिबार हुने भएको छ।
यसपटकको वेबिनारमा मानसिक स्वास्थ्य, तनाव तथा चिन्ता व्यवस्थापन विषयमा विशेषज्ञ क्लिनिकल मनोवैज्ञानिक गिता लिम्बूसँग विशेष छलफल गरिने आयोजकले जनाएको छ।
कार्यक्रममा मानसिक तनाव तथा चिन्ताका प्रारम्भिक संकेत, तनाव व्यवस्थापनका प्रभावकारी उपाय, सामाजिक सञ्जालको मानसिक स्वास्थ्यमा पर्ने प्रभाव तथा मानसिक कठिनाइमा रहेका व्यक्तिलाई परिवार र समुदायले गर्न सक्ने सहयोगलगायतका विषयमा विशेषज्ञसँग छलफल गरिनेछ।
कार्यक्रमबारे जानकारी दिँदै एनआरएनए जापान, क्षेत्रीय समन्वय परिषद् चिबाका संयोजक राजनबाबु सुबेदीले जापानमा रहेका नेपाली समुदायमा मानसिक स्वास्थ्यसम्बन्धी सचेतना अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताउनुभयो। उहाँले मानसिक स्वास्थ्यका विषयमा समयमै जानकारी लिनुका साथै समस्या देखिएमा आवश्यक सहयोग तथा परामर्श लिनु महत्वपूर्ण रहेको उल्लेख गर्नुभयो।
त्यस्तै, क्षेत्रीय समन्वय परिषद् चिबाका सचिव सरोज गिरीले वेबिनार जापानमा रहेका नेपाली विद्यार्थी, कामदार, अभिभावक तथा समग्र नेपाली समुदायका लागि उपयोगी हुने बताउनुभयो। उहाँले कार्यक्रममा सहभागी भएर मानसिक स्वास्थ्यसम्बन्धी आफ्ना जिज्ञासा विशेषज्ञसमक्ष राख्न सबैलाई आग्रह गर्नुभयो।
अगस्ट २२ गते शनिबार साँझ ७ बजेदेखि सञ्चालन हुने उक्त कार्यक्रम एनआरएनए चिबाको फेसबुक तथा टिकटकबाट प्रत्यक्ष प्रसारण गरिनेछ। कार्यक्रममा जापानमा रहेका नेपाली समुदायका साथै मानसिक स्वास्थ्यका विषयमा चासो राख्ने सबैलाई सहभागी हुन आयोजकले अनुरोध गरेको छ।
(2).gif)
