हिन्दु महिलाहरूको महान् पर्व हरितालिका तीजको अवसरमा बिहुँकोट समाज जापानले जापानका तीन प्रमुख सहरमा ‘तीज विशेष कार्यक्रम–२०२६’ आयोजना गर्ने भएको छ।
कार्यक्रममा नेपालबाट आमन्त्रित राष्ट्रिय कलाकार सम्झना लामिछाने मगर र सिता परियारसँगै जापानमा रहेका स्थानीय कलाकारहरूको पनि सांगीतिक प्रस्तुति रहनेछ। कार्यक्रम सेप्टेम्बर १० मा ओसाका, सेप्टेम्बर ११ मा ओकायामा तथा सेप्टेम्बर १४ (हरितालिका तीजको दिन) मा टोकियोमा आयोजना हुनेछ। ओकायामाको कार्यक्रम बिहुँकोट समाज जापान र ओकायामा नेपाली समाजको संयुक्त आयोजनामा सम्पन्न हुनेछ।
प्रवासमा नेपाली कला, संस्कृति र तीज पर्वको मौलिकतालाई जगेर्ना गर्ने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको बिहुँकोट समाज जापानका अध्यक्ष टिकाराम कँडेलले जानकारी दिनुभयो। उहाँले जापानवासी नेपाली समुदायलाई आफूलाई पायक पर्ने स्थानमा उपस्थित भई कार्यक्रमलाई सफल बनाउन आग्रह गर्दै अन्य संघ–संस्थालाई सोही मितिमा कार्यक्रम नजुधाइदिन अपिल समेत गर्नुभएको छ।
अध्यक्ष कँडेलका अनुसार हाललाई जापानका तीन प्रमुख सहरमा आयोजना हुने कार्यक्रमको मिति मात्र सार्वजनिक गरिएको छ। कार्यक्रम आयोजना हुने स्थल केही दिनभित्र सार्वजनिक गरिनेछ। साथै, तीनै स्थानमा आयोजना हुने कार्यक्रममा प्रवेश पूर्ण रूपमा निःशुल्क रहने उहाँले जानकारी दिनुभयो।
(2).gif)
