करिब डेढ करोड जापानी येनको लगानीमा टोकियो र चिबा क्षेत्रको केन्द्र मानिने मिनामी ग्योतोकुमा जमुना कम्पनी लिमिटेडको दशौँ शाखा तथा ढुङ्गेधारा ब्रान्डको चौथो शाखा ‘ढुङ्गेधारा नेपाली डाइनिङ तथा पार्टी प्यालेस’ सञ्चालनमा आएको छ।
तोजाइ लाइनको मिनामी ग्योतोकु स्टेशनबाट करिब एक मिनेटको पैदल दूरीमा अवस्थित उक्त पार्टी प्यालेस अत्याधुनिक साउण्ड सिस्टम, फराकिलो तथा सुविधासम्पन्न हल, आधुनिक सजावट र करिब दुई सय जनासम्म अट्ने क्षमतासहित सञ्चालनमा आएको कम्पनीले जनाएको छ।
नेपाली समुदायलाई लक्षित गरी सञ्चालनमा ल्याइएको यस पार्टी प्यालेसमा विवाह, व्रतबन्ध, पास्नी, जन्मदिन, पारिवारिक जमघट, कम्पनी कार्यक्रम, सांस्कृतिक कार्यक्रम, सेमिनार तथा अन्य विभिन्न कार्यक्रम आयोजना गर्न सकिने व्यवस्था गरिएको छ। स्वादिष्ट नेपाली तथा अन्य परिकार, व्यावसायिक सेवा, आधुनिक वातावरण र सहज पहुँचका कारण यो पार्टी प्यालेस जापानमा रहेका नेपालीहरूका लागि उत्कृष्ट गन्तव्य बन्ने अपेक्षा गरिएको छ।
ढुङ्गेधारा नेपाली डाइनिङ तथा पार्टी प्यालेसको उद्घाटन समारोह नेपाली समुदायका अग्रज, समाजसेवी, व्यवसायी, विभिन्न संघ–संस्थाका प्रतिनिधि, शुभेच्छुक तथा स्थानीय नेपालीहरूको उल्लेखनीय उपस्थितिमा सम्पन्न भएको थियो।
जमुना ग्रुपका प्रमुख कार्यकारी अधिकृत (सीईओ) राजु कँडेलले उद्घाटन समारोहमा उपस्थित भई कम्पनीको निमन्त्रणा स्वीकार गर्दै साथ, सहयोग र शुभकामना प्रदान गर्ने सम्पूर्ण महानुभावप्रति हार्दिक आभार व्यक्त गर्नुभयो। उहाँले ग्राहक, शुभेच्छुक तथा नेपाली समुदायको विश्वास र साथकै कारण १३ वर्षअघि एउटा रेस्टुरेन्टबाट सुरु भएको जमुना ग्रुपको यात्रा आज बहुआयामिक व्यवसायमा विस्तार भएको बताउनुभयो।
उहाँका अनुसार हाल जमुना ग्रुप अन्तर्गत रेस्टुरेन्ट, हाउस क्लिनिङ सेवा, हलाल फुड सप्लायर्स लगायत अन्य विभिन्न व्यवसाय सञ्चालनमा रहेका छन्। कम्पनीले हाल जापानका विभिन्न क्षेत्रमा करिब पाँच सयभन्दा बढी व्यक्तिलाई रोजगारी प्रदान गरिरहेको छ भने आगामी दिनमा अझ धेरै रोजगारीका अवसर सिर्जना गर्ने लक्ष्य लिएको उहाँले बताउनुभयो।
विशेषगरी विभिन्न कारणले जापानमा समस्यामा परेका नेपाली, ३१ दिने अस्थायी बसोबास अनुमति प्राप्त गरेका व्यक्ति तथा अध्ययन पूरा गरेपछि रोजगारदाता कम्पनी नपाएर नेपाल फर्किनुपर्ने अवस्थाका विद्यार्थीहरूलाई रोजगारी र नयाँ अवसर उपलब्ध गराउने उद्देश्यले कम्पनीले निरन्तर काम गरिरहेको उहाँले जानकारी दिनुभयो। यस पहलमार्फत धेरै नेपालीले नयाँ रोजगारी प्राप्त गरी आफ्नो भविष्य सुरक्षित बनाउन सफल भएको उहाँको भनाइ थियो।
कँडेलले जापानजस्तो अनुशासन, स्वच्छता र गुणस्तरलाई उच्च प्राथमिकता दिने देशमा ग्राहकको विश्वास जित्नु नै सबैभन्दा ठूलो चुनौती भए पनि इमानदार श्रम, गुणस्तरीय सेवा र ग्राहकप्रतिको प्रतिबद्धताका कारण कम्पनीले निरन्तर सफलता हासिल गर्न सकेको बताउनुभयो।
उहाँले कुनै पनि संस्थाको विकाससँगै आलोचना, चुनौती र गुनासाहरू आउनु स्वाभाविक रहेको उल्लेख गर्दै कम्पनीको मूल उद्देश्य व्यवसाय विस्तारसँगै धेरैभन्दा धेरै नेपालीलाई रोजगारीको अवसर उपलब्ध गराउनु रहेको बताउनुभयो। साथै कुनै पनि गुनासो, सुझाव वा जिज्ञासा भए सामाजिक सञ्जालमा चर्चा गर्नुको सट्टा सिधै कम्पनी व्यवस्थापनसँग सम्पर्क गर्न आग्रह गर्नुभयो। सबै विषय आपसी सम्मान, विश्वास र संवादका माध्यमबाट समाधान गर्न कम्पनी सधैँ तयार रहेको उहाँले स्पष्ट पार्नुभयो।
उहाँले आगामी दिनमा पनि नेपाली समुदायलाई गुणस्तरीय सेवा, थप रोजगारीका अवसर तथा सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राख्दै व्यवसाय विस्तारलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो।

(2).gif)
