मंगलबार, भाद्र ३० गते २०८३ Tuesday, 15 Sep, 2026
Follow Us on

राष्ट्रपति पौडेल जापान भ्रमणमा, नेपाल–जापान कूटनीतिक सम्बन्धको ७० औँ वर्षगाँठ मनाइँदै

गण्डकी पोष्ट माघ २१, २०८२ मंगलबार
  • 58
    SHARES
  • राष्ट्रपति पौडेल जापान भ्रमणमा, नेपाल–जापान कूटनीतिक सम्बन्धको ७० औँ वर्षगाँठ मनाइँदै

    नेपाल–जापान कूटनीतिक सम्बन्ध स्थापनाको ७० औँ वर्षगाँठको अवसरमा जापान सरकारको औपचारिक निमन्त्रणामा राष्ट्रपति रामचन्द्र पौडेल सोमबार टोकियो आइपुग्नुभएको छ।

    images

    राष्ट्रपति पौडेललाई नारिता अन्तर्राष्ट्रिय विमानस्थलमा जापानको परराष्ट्र मन्त्रालयका प्रमुख प्रोटोकल प्रमुख (राजदूत) मियाशिता तादायुकी, नेपालका लागि जापानी राजदूत माएदा तोरु तथा टोकियोस्थित नेपाली राजदूतावासका कार्यवाहक राजदूत हरिहरकान्त पौडेलले स्वागत गर्नुभएको थियो।

    टोकियो आगमनकै दिन दिउँसो राष्ट्रपति पौडेलले जापानका प्रतिष्ठित व्यवसायी, उद्यमी तथा लगानीकर्तासँग भेटवार्ता गर्नुभएको छ। सो अवसरमा नेपाली पक्षबाट “नेपालमा व्यवसाय तथा लगानीका सम्भावना” विषयक प्रस्तुति दिइएको थियो। बैठकलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले जापानी व्यवसायी समुदायलाई नेपालमा लगानीका अवसरहरू अन्वेषण गर्न आग्रह गर्दै लगानीका लागि नेपाल सरकारले आवश्यक सबै सहयोग उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्नुभयो।

    यसै दिन साँझ राष्ट्रपति पौडेलले जापान सरकारको तर्फबाट परराष्ट्र मामिला सम्बन्धी राज्यमन्त्री होरिइ इवाओद्वारा आयोजित विशेष स्वागत समारोहमा सहभागी हुनुभयो। समारोहलाई सम्बोधन गर्दै उहाँले नेपाल–जापानबीच विद्यमान सौहार्दपूर्ण र मैत्रीपूर्ण सम्बन्ध आपसी सम्मान, विश्वास, समझदारी तथा सहकार्यमा आधारित रहेको उल्लेख गर्नुभयो। बुद्ध जन्मभूमि लुम्बिनीलाई नेपाल–जापानबीच जनस्तरको सम्बन्ध सुदृढ गर्ने सेतुका रूपमा उल्लेख गर्दै उहाँले विश्व शान्तिको प्रतीकका रूपमा लुम्बिनी विकासमा जापानले पुर्‍याउँदै आएको निरन्तर सहयोगप्रति आभार व्यक्त गर्नुभयो।

    राष्ट्रपति पौडेलले उत्पादन, जलविद्युत्, पर्यटन, सेवा, सूचना प्रविधि, खानी तथा कृषि जस्ता प्राथमिक क्षेत्रमा जापानी लगानीकर्तालाई नेपालमा लगानी गर्न आह्वान गर्नुभयो। साथै पर्यटन क्षेत्रमा सहकार्य विस्तार गर्नुपर्नेमा पनि जोड दिनुभयो। नेपाल–जापान कूटनीतिक सम्बन्धको ७० औँ वर्षगाँठको अवसरमा शुभकामना व्यक्त गर्दै उहाँले यस अवसरले द्विपक्षीय सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउने विश्वास व्यक्त गर्नुभयो।

    कार्यक्रमअघि जापानका परराष्ट्र मामिला सम्बन्धी राज्यमन्त्रीले राष्ट्रपति पौडेलसँग शिष्टाचार भेट गर्नुभएको थियो। भेटमा नेपाल–जापान सम्बन्ध र सहकार्यका विविध पक्षमा छलफल भएको थियो।

    यसै क्रममा राष्ट्रपति पौडेलले टोकियोस्थित नेपाली राजदूतावासको समेत भ्रमण गर्नुभयो। राजदूतावासका कार्यबारे जानकारी लिँदै उहाँले जापानमा रहेका नेपालीहरूको हित संरक्षण र प्रभावकारी सेवा प्रवाहमा अझ सक्रिय भएर काम गर्न निर्देशन दिनुभयो।

    राष्ट्रपति पौडेलले भोलि जापानका सम्राट नारुहितोसँग राजकीय शिष्टाचार भेट तथा जापानकी प्रधानमन्त्री ताकाइची सानाएसँग औपचारिक भेटवार्ता गर्ने कार्यक्रम रहेको छ।

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार