मंगलबार, भाद्र ३० गते २०८३ Tuesday, 15 Sep, 2026
Follow Us on

‘जापानको मोहः संघर्षको पहाड कि, सुनौलो भविष्य ?’ विषयमा एनआरएनए चिवाले निबन्ध लेखन प्रतियोगिता गर्दै

गण्डकी पोष्ट पौष २६, २०८२ शनिबार
  • 286
    SHARES
  • ‘जापानको मोहः संघर्षको पहाड कि, सुनौलो भविष्य ?’ विषयमा एनआरएनए चिवाले निबन्ध लेखन प्रतियोगिता गर्दै

    जापानमा बसोवास गर्ने नेपाली समुदायलाई लक्षित गर्दै गैरआवासीय नेपाली संघ (एनआरएनए) जापान अन्तर्गत चिवा क्षेत्रीय समन्वय परिषद्ले निबन्ध लेखन प्रतियोगिता आयोजना गर्ने घोषणा गरेको छ।

    images

    नेपाली भाषा तथा साहित्यको प्रवर्द्धन गर्नुका साथै सिर्जनात्मक लेखनलाई प्रोत्साहन गर्दै जापानका समसामयिक विषयवस्तुहरूबारे नेपाली समुदायलाई सुसूचित गराउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको आयोजकले जनाएको छ।

    एनआरएनए चिवाका उपसंयोजक तथा निबन्ध प्रतियोगिता कार्यक्रम संयोजक मोहन कार्कीका अनुसार प्रतियोगिताको शीर्षक “जापानको मोहः संघर्षको पहाड कि, सुनौलो भविष्य ?” तय गरिएको छ। सहभागीहरूले उक्त विषयमा आधारित रही निबन्ध लेख्नुपर्नेछ।

    प्रतियोगितामा उत्कृष्ट निबन्धकारहरूलाई आकर्षक नगद पुरस्कार प्रदान गरिनेछ। प्रथम हुनेलाई ७० हजार येन, द्वितीयलाई ५० हजार येन र तृतीयलाई ३० हजार येन पुरस्कार प्रदान गरिनेछ। साथै सहभागी निबन्धकारहरूमध्ये सात जनालाई सान्त्वना पुरस्कारस्वरूप जनही ५ हजार येन प्रदान गरिने आयोजकले जानकारी दिएको छ।

    निबन्ध पेश गर्ने अवधि सन् २०२६ जनवरी ९ तारिखदेखि जनवरी ३१ तारिखसम्म तोकिएको छ।

    प्रतियोगितामा सहभागी हुन इच्छुक निबन्धकारहरूले नेपाली भाषामा लेखिएको मौलिक निबन्ध पेश गर्नुपर्नेछ। निबन्ध कम्प्युटर वा मोबाइलमार्फत टाइप गरिएको हुनुपर्नेछ अथवा शुद्ध, सफा र स्पष्ट रूपमा बुझिने हस्तलिखित हुनुपर्नेछ। जापानमा बसोवास गर्ने विद्यार्थी, कामदार तथा डिपेन्डेन्ट सबैले सहभागिता जनाउन सक्नेछन्।

    यसअघिका शृङ्खलामा प्रथम, द्वितीय वा तृतीय स्थान प्राप्त गरिसकेका निबन्धकारहरूलाई यसपटक सहभागिता जनाउन नपाइने व्यवस्था गरिएको छ। साथै अन्य प्रतियोगितामा पठाइएका निबन्धहरू पुनः पठाउन पाइने छैन भने निबन्ध अप्रकाशित तथा अप्रसारित हुनुपर्नेछ। नतिजा सार्वजनिक नहुन्जेल निबन्ध अन्यत्र प्रकाशन वा प्रसारण गर्न नपाइने आयोजकले जनाएको छ।

    निबन्धको शब्द सीमा न्यूनतम १२०० र अधिकतम १५०० शब्द तोकिएको छ। तोकिएको शब्द सीमा नपुगे वा नाघेमा निबन्ध स्वतः खारेज गरिनेछ। साथै एआई लगायतका डिजिटल प्लेटफर्ममार्फत तयार पारिएका निबन्धहरू स्वतः खारेज गरिने स्पष्ट गरिएको छ।

    प्रतियोगीले निबन्धसँगै आफ्नो छोटो परिचय, सम्पर्क नम्बर तथा हालसालै खिचिएको फोटो अनिवार्य रूपमा पठाउनुपर्नेछ। परिचय नखुलेका निबन्धहरू प्रतिस्पर्धामा समावेश नहुने जनाइएको छ।

    निबन्धहरू एनआरएनए चिवाको आधिकारिक वेबसाइट तथा फेसबुक पेजमार्फत सार्वजनिक गरिने लिंकमार्फत मात्र पेश गर्नुपर्नेछ। आयोजकले जापानमा रहेका नेपाली स्रष्टा तथा लेखनप्रेमीहरूलाई प्रतियोगितामा सक्रिय सहभागिता जनाउन आग्रह गरेको छ।

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार