मंगलबार, भाद्र ३० गते २०८३ Tuesday, 15 Sep, 2026
Follow Us on

अन्तर्राष्ट्रिय तामाङ परिषद्ले आगामी ६ महिनाभित्र विज्ञहरुको भेला गर्ने

गण्डकी पोष्ट आषाढ ५, २०८० मंगलबार
  • 234
    SHARES
  • अन्तर्राष्ट्रिय तामाङ परिषद्ले आगामी ६ महिनाभित्र विज्ञहरुको भेला गर्ने

    जापान । तामाङ समुदायको एकमात्र विश्वव्यापी साझा मञ्च अन्तर्राष्ट्रिय तामाङ परिषद् (ITC)ले संगठनात्मक व्यवस्थालाई पूर्णता दिन आगामी ६ महिनाभित्र विज्ञहरुको भेला गर्ने भएको छ । 
    थाइल्यान्डमा हालै सम्पन्न पाँचौ अन्तर्राष्ट्रिय विश्व सम्मेलनबाट पारित विधानको व्यवस्थाबमोजिम नौ वटा विषयगत समितिहरूलाई पूर्णता दिन विज्ञहरुको भेला गरिन लागेको हो । नवनिर्वाचित महासचिव टासी लामा तामाङले विश्व सम्मेलनबारे शुक्रबार जारी विज्ञप्तिमा उक्त विषय उल्लेख छ । 
    'विधानमा परिषद्को लक्ष्य र उद्देश्यलाई पूरा गर्न विषय विज्ञहरू सम्मिलित विभिन्न नौ वटा विषयगत समितिहरू रहने संगठनात्मक व्यवस्थासमेत गरेको छ । जसमा १. तामाङ सांस्कृतिक पुनः उत्थान समिति, २. भाषा, लिपि तथा शिक्षा प्रवर्द्धन समिति, ३. प्रवासी तामाङ समन्वय, सुरक्षा तथा संरक्षण समिति, ४ वातावरण तथा तामाङ स्वः विकास परिचालन समिति, ५. तामाङ कला, संस्कृति, साहित्य, इतिहास लेखन समिति, ६. अध्ययन अनुसन्धान तथा क्षमता अभिवृद्धि समिति, ७ अन्तर्राष्ट्र्रिय तामाङ उच्चस्तरीय पञ्चाङ्ग समिति, ८. तामाङ विकास कोष निर्माण समिति र ९. तामाङ मानव अधिकार प्रवर्द्धन समिति रहेका छन्,' विज्ञप्तिमा लेखिएको छ, 'अन्तर्राष्ट्रिय तामाङ परिषद्ले आगामी ६ महिनाभित्रमा विज्ञहरूको भेला गरी उल्लेखित समितिहरु निर्माण गर्नेछ ।'
    परिषद्का महासचिव लामाले थाइल्यान्डको हुवाहिन सहरमा आयोजित अन्तर्राष्ट्रिय विश्व सम्मेलन भव्यताका साथ सम्पन्न भएको निष्कर्षसाथ सम्मेलन सफल बनाउन सहयोग गर्ने सबैमा धन्यवाद ज्ञापनसमेत गरेको छ । जेठ २० र २१ गते सम्पन्न सम्मेलनमा ३०० भन्दा बढी प्रतिनिधि, ताम्बा, बोन्बो लामा, बुद्धिजीवी, पत्रकार, अतिथिहरुको सहभागितामा उत्सवमय तवरले सम्पन्न गरेको परिषद्को विज्ञप्तिमा लेखिएको छ । 

    images

    थाइल्यान्डका साथै नेपाल, भारत, बर्मा, अमेरिका, जापान, हङकङ, दक्षिण कोरिया, पोर्चुगल, यूएई, बहराइन, रोमानियासहित १२ देशका १६ सदस्य संस्थाहरुबाट प्रतिनिधि सम्मेलनमा सहभागी थिए ।

    IMG_2728.jpeg

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार