एनआरएनए जापान र नेपाली राजदूतावास, जापानको संयुक्त आयोजनामा टोकियोमा आजदेखी १२ औं नेपाल फेस्टिबल शुरु भएको छ । टोकियोको नाकानो स्थित सिकीनो मोरी पार्कमा शुरुवात भएको फेस्टिबलको संघीय संसद, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले उद्घाटन गर्नुभएको थियो ।
फेस्टिबलको उद्घाटन पश्चात सम्बोधन गर्दै अध्यक्ष तिमिल्सिनाले नेपालको कला, संस्कृति, भेषभूषा, रीतिरिवाज आदिको प्रवर्द्धन एवं संरक्षणका लागि नेपाल फेस्टिभल आयोजना गरेकोमा धन्यवाद व्यक्त गर्दै आगामी दिनमा पनि यस प्रकारका कार्यक्रमहरूलाई निरन्तरता दिन अनुरोध गर्नुभयो ।
यसका साथै नेपाल र जापानबीच घनिष्ठ सम्बन्ध रहेको बताउनुहुँदै नेपालको सामाजिक, आर्थिक लगायत समग्र विकासमा मित्रराष्ट्र जापानले गर्दै आएको सहयोगका लागि धन्यवाद दिनुभयो । जापानमा रहेका नेपालीहरू नेपालको विकासका लागि अग्रसर रहेको आफूले पाएको र भविष्यमा पनि सबैजना एकजुट भई जापानमा आर्जन गरेको ज्ञान, सीप तथा पुँजी राष्ट्रको विकासमा परिचालन गर्न अनुरोध गर्नुभयो ।
सोही कार्यक्रममा बोल्दै जापानको परराष्ट्र मन्त्रालयको दक्षिणपूर्व तथा दक्षिण पश्चिम एशिया मामिला विभागका महानिर्देशक ताकेहिरो कानोले सन् १९५६ मा नेपाल र जापानबीच कूटनीतिक सम्बन्ध स्थापना भएदेखि नै दुई देशबीच विभिन्न क्षेत्रमा सम्बन्ध विस्तार एवं प्रगाढ बन्दै गइरहेको बताउनुभयो। एक लाख भन्दा बढीको संख्यामा जापानमा बसोवास गर्ने नेपालीहरू दुई देशबीचको सम्बन्धको मेरुदण्ड भएको र जापानको विकासमा नेपाली समुदायको महत्वपूर्ण योगदान रहेको पनि उल्लेख गर्नुभयो । साथै, आगामी दिनमा नेपाल जापान सम्बन्ध थप सुदृढ हुने कुरामा विश्वास व्यक्त गर्नुभयो ।
नेपाली राजदूतावास, जापानका कार्यवाहक राजदूत अम्बिका जोशीले कार्यक्रममा उपस्थित सम्पूर्ण अतिथि तथा सहभागीहरूलाई स्वागत गर्दै चर्को गर्मी र कोभिड-१९ को संक्रमण उच्च रहेको कठिन समयमा पनि कार्यक्रममा सहभागिता जनाउनुभएकोमा धन्यवाद ज्ञापन गर्नुभयो । नेपाल भौगोलिक एवं साँस्कृतिक रुपले विविधतायुक्त भएको उल्लेख गर्दै विविधताबीच कायम एकता उदाहरणीय रहेको बताउनुभयो । सबै खाले पर्यटकहरूका लागि नेपाल आकर्षक गन्तव्य रहेको उल्लेख गर्दै जापानी लगायत अन्य विदेशी मित्रहरूलाई नेपाल भ्रमणका लागि आमन्त्रण गर्नुभयो । उहाँले जापानमा नेपाली विद्यार्थी आगमनको १२० औं वर्षगाँठलाई स्मरण गर्दै नेपाल-जापान सम्बन्धका हिसाबले सन् २०२२ विशेष महत्वको वर्ष रहेको पनि उल्लेख गर्नुभयो ।
कार्यक्रमलाई नाकानो वार्डका प्रमुख साकाई नाओतोले सम्बोधन गर्दै नाकानो वार्डमा उल्लेख्य उपस्थिति रहेको नेपाली नागरिकहरूसँग वार्डको सुमधुर सम्बन्ध रहेको र त्यहाँ बसोवास गर्ने नेपालीहरुलाई वार्डको तर्फबाट सदैव सहयोग रहने कुरामा आश्वस्त पार्नुभयो ।
एनआरएनए जापानका अध्यक्ष शिव प्रसाद पौडेलले कार्यक्रम आयोजना गर्न सहयोग पुर्याउनुहुने सबैप्रति धन्यवाद व्यक्त गर्नुभयो। गैर आवासीय नेपाली संघ जापानका उपाध्यक्ष संगीता अधिकारी सुवेदी र महासचिव सिद्धार्थ श्रेष्ठले संचालन गर्नुभएको उक्त कार्यक्रमलाई फेस्टिभलका इभेन्ट पार्टनरहरू रविन शेरचन र साहो स्यूइचीले समेत सम्बोधन गर्नुभएको थियो ।
जापानमा रहेको नेपाली समुदायलाई लक्षित गरी एनआरएनए जापानकी सचिव एलिजा के.सी. भण्डारीले नेपाली भाषामा तयार पार्नुभएको भूकम्प प्रकोप पूर्व तयारी पुस्तिका पनि उक्त कार्यक्रममा विमोचन गरिएको थियो । नेपाली परम्परा र संस्कृति झल्काउने विभिन्न झाँकी, गीत तथा नृत्यहरू पनि प्रस्तुत गरिएको उद्घाटन समारोहमा टोकियोस्थित विभिन्न राजदूतावासका कूटनीतिक प्रतिनिधिहरू, नेपालका लागि पूर्व जापानी राजदूत लगायत ठूलो संख्यामा नेपाली तथा जापानी नागरिकहरूको उपस्थिति रहेको थियो।नेपाल फेस्टिबल ३१ जुलाई अर्थात भोली आईतवार समापन हुनेछ ।















(2).gif)
