माघे औँसीको दिन नवलपुर जिल्लाको त्रिवेणीधाममा स्नान गर्नेहरूको भीड लागेको छ । नेपाल भारतको सीमा नजिक भएकाले भारतबाट समेत हजारौँ भक्तजनहरू आएर स्नान गरेका हुन् ।
स्थानीय प्रशासनले भीडभाड नगर्न, मेला लगाउन नपाइने आदेश जारी गरे पनि भक्तजनहरूको भीड लागेको हो । माघे औँसीको अघिल्लो दिन सोमबारबाटै मेला लागेको छ ।
भारतको बिहार, उत्तरप्रदेश र नेपालका विभिन्न स्थानबाट भक्तजनहरू स्नान गर्न र पूजापाठ गर्न गएका हुन् । मठमन्दिरमा मङ्गलबार बिहानैदेखि पूजापाठ र भजनकीर्तन गर्नेको घुइँचो लागेको छ ।
त्रिवेणीधामस्थित गजेन्द्रमोक्ष दिव्यधामका स्वामी कृष्ण प्रपन्नाचार्यका अनुसार आज माघे औँसीमा त्रिवेणीधाममा स्नान गर्न देवताहरूसमेत आउने जनविश्वास रहेकाले यो औँसीमा यहाँ स्नान गर्नाले पुण्य मिल्ने परापूर्वकालदेखिको विश्वास रहेको छ । त्रिवेणीधाम बजारबाट दुई किलोमिटर उत्तरमा रहेको गजेन्द्र मोक्षदिव्यधाममा दर्शनार्थीको घुइँचो लागेको छ । यो यहाँको सबैभन्दा ठूलो र भव्य मन्दिर हो ।
स्वर्णभद्रा, पूर्णभद्रा र नारायणी नदीको सङ्गमस्थल त्रिवेणीधाम भएकाले र महिनाहरूमा माघ श्रेष्ठ महिना भएका कारण औँसीका अवसरमा बाबुआमा नहुनेले यहाँ श्राद्ध गर्ने र दान दिने चलन रहेको छ ।
रामायणको रचना गरेको स्थल पनि त्रिवेणीधाम हो । यसैले त्रिवेणीधामको ठूलो महत्व रहेको धार्मिक गुरुहरूको भनाइ छ ।
औँसीमा नारायणी नदीमा स्नान गरेर गौदान, तिलदान, गुणदान गर्नाले विशेष पुण्य मिल्ने विश्वास भक्तजनहरूमा रहेको पाइन्छ ।
(2).gif)
