नेपाल शैक्षिक परार्मश संघ (इक्यान)ले अब जापान तथा अष्ट्रेलिया जाने विद्यार्थीहरूले नियमित प्रकृयाबाट विगतमा झैं यात्रा गर्न सक्ने बताएको छ ।
इक्यानले मंगलबार राजधानीमा एक कार्यक्रमको आयोजना गरी अभिभावक तथा विद्यार्थीहरूलाई आवागमन खुल्ला गरिएका मुलुकहरूको भिसा प्रकृया तथा यात्राको तयारीलाई सहज एवम् व्यवस्थित बनाउने सन्दर्भमा देखापर्ने चुनौतीहरूको विषयमा जानकारी दिएको हो ।
जापान सरकारले २०२० को डिसेम्बरदेखि विद्यार्थी भिसामा जापानमा उच्च शिक्षा अध्ययनमा जाने विद्यार्थीको लागि प्रवेशमा रोक लगाईएकोमा २०२१ नोभेम्वर ०८ वाट प्रवेशको लागि अनुमति दिने निर्णय गरेको छ ।
जसबाट २०२० मा सिओई प्राप्त गरी ट्युसन फि लगायतका शुल्क तिरेर बसेका विद्यार्थीमा सहजता हुने अपेक्षा गरिएको इक्यानले जनाएको छ ।
जापान सरकारले २०२० को अप्रिल देखि २०२१ को अप्रिलसम्मका विद्यार्थीलाई २०२१ को नोभेम्वर, डिसेम्वर र जनवरी गरी तीन महिनामा प्रवेशको अनुमती दिने र २०२१ को अप्रिल, जुलाई र अक्टोवरका विद्यार्थीलाई जनवरीपछि सुचना जारी गर्ने जनाएको छ ।
इक्यानका अनुसार २०२० जनवरी ०१ देखि २०२० मार्च ३१ सम्म सिओई प्राप्त विद्यार्थीले नोभेम्वर २०२१ मा प्रवेश पाउनेछन् भने २०२० जनवरी ०१ देखि २०२० सेप्टेम्वर ३० सम्म सिओई प्राप्त विद्यार्थीले डिसेमम्वर २०२१ मा प्रवेश पाउने भएका छन् ।
त्यस्तै, २०२० जनवरी ०१ देखि २०२१ मार्च ३१ सम्म सिओई प्राप्त विद्यार्थीले जनवरी २०२२ मा प्रवेश पाउने इक्यानले जानकारी दिएको छ ।
सोहीअनुसार नेपालबाट जापानिज दुतावासमा भिसा आवेदन गरी भिसा प्राप्त गर्न सक्ने इक्यानले जनाएको छ ।
नेपालमा भिसा आवेदन पुर्व विद्यार्थीले आफुले अध्ययन गर्न जान चाहेको कलेज, स्कुलवाट माग गरिएको कागजपत्र पेश गरी जापानको शिक्षा मन्त्रालयवाट प्रदान गर्ने सर्टिफिकेट वा इक्जामिनेसन (स्क्रीनिङ सर्टिफिकेट) लिनुपर्ने बाध्यात्मक व्यवस्था गरिएको छ ।
स्क्रीनिङ सर्टिफिकेट प्राप्त विद्यार्थीले मात्र भिसा आवेदन गर्न सक्ने इक्यानको भनाई छ । साथै नेपालमा अवस्थित जापानिज दुतावासले भिसा आवेदन प्रत्यक्ष रूपमा नलिने नयाँ नियम शुरु गरेको छ । यससँगै अब सम्पूर्ण भिसा आवेदन नेपाल अवस्थित भिएफएस ग्लोबल नेपालबाटबाट लिने बताइएको छ ।
यो व्यवस्थाले विद्यार्थीले आफ्नो अनुकुल समयमा भिसा आवेदन दिन सक्ने अनुमान गरिएकोमा सो विपरित भिएफएस ग्लोबलले जापान सरकारले जारी गरिएको सूचना विपरित कुनै निश्चित मापदण्डमा नरही अव्यवहारिक तवरले भिसा आवेदनको बुकिङ लिइरहेको इक्यानको भनाई छ ।
जसबाट २०२० मा फि जापान पठाई जापान जान प्रतिक्षारत विद्यार्थीहरुले स्क्रीनिङ सर्टिफिकेट प्राप्त गरेता पनि सहजै भिसा आवेदनको लागि भिएफएसबाट समय प्राप्त गर्ने अवस्था नदेखिएको बताइएको छ ।
२०२० का विद्यार्थीलाई प्राथमिकतामा राखि सूचना निकालेको जापान सरकारले भिएफएस नेपाललाई भने सोही अनुसार निर्देशन नदिएकोले विद्यार्थीहरू मर्कामा परेको इक्यानद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
सोमबार अष्ट्रेलियाका प्रधानमन्त्री स्कोट मोरिसनले अन्तर्राष्ट्रिय यात्रुका लागि अष्ट्रेलियाको सिमाना खोल्नेबारे थप घोषणा गरेका छन् ।
यस घोषणाले अष्ट्रेलियामा बिभिन्न भिसाअन्तर्गत यात्रा गर्न चाहने यात्रु खासगरी नेपाली विद्यार्थीहरूलाई प्रबेशका लागि ढोका खुलेको छ । नेपालका लागि अष्ट्रेलियन राजदुत फिलिसिटी भोल्कले इक्यानलाई आधिकारिक रुपमा यो घोषणाबारे बताएका थिए ।
जसअन्तर्गत डिसेम्बर १ देखि पूर्ण रूपमा खोप लगाइएका योग्य भिसा धारकहरू अन्तर्राष्ट्रिय विद्यार्थी, दक्ष, शरणार्थी, मानवीय, अस्थायी र अस्थायी पारिवारिक भिसा धारकहरू सहित) यात्रा छुटको लागि आवेदन नगरी अष्ट्रेलिया जान सक्नेछन ।
योग्य भिसा धारकहरूमा दक्ष र विद्यार्थी समूहहरू, रिफुजी, ह्युम्यानिटरियन र टेम्पोररी तथा प्रोभिजनल परिवार भिसा होल्डरहरु समावेश छन् ।
अष्ट्रेलियाको थेराप्युटिक गुड्स एडमिन्ट्रेसन (टिजिए)द्वारा स्वीकृत वा मान्यता प्राप्त भ्याक्सिनको सम्पूर्ण डोज लिएर पूर्ण रूपमा खोप लगाएको हुनु पर्नेछ ।
यसमा १२ वर्ष मुनिका बालबालिका र अन्य स्वास्थ्यको कारणले खोप लगाउन नपर्ने यात्रुहरुको लागि भने पूर्ण रूपमा खोप लगाइएका यात्रुहरू सरहकै मान्यता रहने छ ।
१२ देखी १७ वर्ष उमेरका खोप नलगाइएका नाबालिगहरूलाई पूर्ण खोप लगाएको बयस्कसँग यात्रा गर्न अनुमति दिने ब्यबस्था गरिएको छ ।
यसका लागि प्रबेश गर्न चाहेको राज्य वा क्षेत्रका स्पेसिफिक रिक्वायरमेन्ट्स बिशेष लाई भने ध्यान दिनु पर्नेछ ।
त्यस्तै, यात्रा गर्न चाहाने व्यक्तिको भिसा सबक्लासेजअन्तगृत योग्ता पुगेको भ्यालिड भिसा हुनुपर्नेछ भने यात्रुहरूले पूर्ण भ्याक्सिन लगाएको प्रमाणपत्र पेश गर्नुपर्नेछ ।
यो व्यवस्था रहेसम्म यात्रुहरुले अनिबार्य रूपमा प्रस्थान गरेको ३ दिन भित्र गरिएको कोभिड–१९ नेगेटिभ पोलिमरेज चेन रियाक्सन (पिसिआर) परीक्षण गरिएको रिर्पोट पेश गर्नुपर्नेछ ।
अष्ट्रेलियामा क्वारेन्टाइन आवश्यकताहरू राज्य र क्षेत्र सरकारहरूद्वारा निर्धारण गरिने ब्यबस्था गरिएको छ । हाललाई अष्ट्रेलिया फर्कने यात्रुहरूले क्वारेन्टाइन नबसी एनएसडब्ल्यु, भिक्टोरिया, एसिटिमा मात्र प्रवेश गर्न र यात्रा गर्न सक्ने ब्यबस्था गरिएको छ ।
अष्ट्रेलियाको एक राज्य वा क्षेत्रबाट अर्को राज्य वा क्षेत्रमा यात्रा गर्न चाहने व्यक्तिहरूलाई क्वारेन्टाइन अवधिबाट प्रबेश दिन चाहने वा प्रवेश गर्न अनुमति नदिने ब्यबस्था सम्बन्धित राज्य वा क्षेत्रको अधिनमा रहने बताइएको छ ।
यात्रुहरूले आफूले यात्रा गर्न चाहेको अष्ट्रेलियाको कुनै पनि राज्य वा क्षेत्रमा क्वारेन्टाइनको व्यवस्थाबारे ब्यक्ति स्वयम् सचेत हुनुपर्नेछ । सबै व्यवस्था अष्ट्रेलिया जान चाहने कुनै पनि यात्रु तथा विद्यार्थीको हकमा लागु हुनेछ ।
कार्यक्रममार्फत इक्यानले विद्यार्थी, अभिभावक तथा सम्बन्धित व्यक्ति वा संस्थालाई अनावश्यक दवाव तथा आर्थिक भार नपर्ने गरी भिएफएस अपोइन्टमेन्ट तथा हवाई टिकट व्यवस्थापनको कार्यमा सहजीकरण गर्न तथा कुनै खास समस्या उत्पन्न भएमा तत्काल इक्यानको केन्द्रिय कार्यलयलाई सूचना दिन आग्रह गरेको छ ।
विगत करिब २ वर्ष देखि विश्वव्यापी महामारीका कारण नेपाली विद्यार्थीहरुले उच्च शिक्षा हासिल गर्नका लागि विशेष रुचाइने मुलुकहरुमा अध्ययन गर्न जाने प्रकृया पनि अबरुद्ध भएको थियो ।
कयौँ नेपाली विद्यार्थीहरुले भिसा प्राप्त गरिसकेको लामो समयसम्म यात्रा गर्न नसकेर तथा नेपाल मै अनलाइन कक्षा लिनु पर्ने बाध्यता पनि थियो । अब अन्तर्राष्ट्रिय आवागमन सामान्य हुने क्रममा रहेको र जापानले नोभेम्बर ८ तारिखदेखि नै विदेशीको लागि पर्यटक भिसाबाहेक अन्य भिसाको निमित्त बोर्डर खुल्ला गरि भिसा प्रकृया आरम्भ गरिसकेको छ । त्यस्तै, अष्ट्रेलिया सरकारले पनि डिसेम्बर १ तारिखदेखि विदेशी विद्यार्थी लगायत अन्य वर्गका यात्रुहरुलाई आवागमन खुल्ला गर्ने निर्णय गरेको छ ।
(2).gif)
