दिनभर गिट्टी कुट्छन् जुम्लाका बालबालिका - अभिभावक बुझ्दैनन् बालअधिकार

जुम्ला माघ १७  : कुडारी गाविसकी १२ वर्षीया भावना बिटालु विद्यालय जाँदिनन्, दिनभरि सडकछेउमा बसेर आमासँगै गिट्टी कुट्छिन्।
जीविका चलाउन गिट्टी कुट्नुको विकल्प नभएको उनको भनाइ छ। ‘आर्थिक अवस्था कमजोर भएकै कारणले पढ्न जान पाइनँ’, भावनाले भनिन्, सँगैका साथीहरू स्कुल गइरहेको देख्दा नरमाइलो लाग्छ।’ ‘आफ्नो जीवन सडक छेउमा बित्ने त होइन’, उनी बेलाबेलामा झस्किने गर्छिन्।  
कुडारीकै १३ वर्षीया खुम्बिरा कामी सडकको छेउमा गिट्टी कुटेर पैसा आम्दानी गर्छिन्। कक्षा ६ मा पढ्ने विद्यालय बन्द हुँदा गिट्टी कुट्ने गरेको उनी बताउँछिन्। एक कट्ठी गिट्टी कुटेको ४० रुपैयाँ पाउने उनले जाडो बिदाभर अहिलेसम्म करिब ७६ कट्ठी गिट्टी कुटेको बताइन्। भावना र खुम्बिरा मात्र होइन उनीहरूको उमेरका यहाँका अन्य बालबालिका गिट्टी कुट्छन्। कसैले घर खर्च चलाउन बाबुआमालाई सहयोग गर्छन्।
कसैले कापी कलमको जोहो गर्छन्। गरिबीका कारण पढ्ने लेख्ने उमेरका छोराछोरीलाई गिट्टी कुट्न लगाउनुपरेको खुम्बिराकी आमा गोमाले बताइन्। ‘मुखमा लगाउने माड नभएपछि अधिकारका कुरा ख्याल हुँदो रहेनछ’, उनले भनिन्। जीविकाको राम्रो स्रोत भए छोराछोरीलाई काममा नलगाउने कुडारीका अभिभावकको भनाइ छ। यसका लागि सरकारले पहल गरिदिओस् भन्ने चाहेका छन्, उनीहरूले।



प्रतिक्रियाहरु




सम्बन्धित शीर्षकहरु