सरकारले मध्यपहाडी र हुलाकी राजमार्गमा अप्टिकल फाइबर बिछ्याउने घोषणा

‘जेष्ठ २९, २०७३- तेह्रौं योजनाले यसै आर्थिक वर्षभित्र ६५ जिल्ला सदरमुकामलाई अप्टिकल फाइबर सञ्जालभित्र जोडिसक्ने लक्ष्य राखे पनि हालसम्म ४९ जिल्ला सदरमुकाम मात्र सञ्जालमा जोडिएका छन्। बजेटमा आगामी वर्षभित्र ७२ जिल्ला सदरमुकामभित्र अप्टिकल फाइबर पुर्‍याउने घोषणा गरिएको छ। घोषणालाई कार्यान्वयन गर्ने सरकारी स्वामित्वको दूरसञ्चार कम्पनी नेपाल टेलिकमले भने आगामी वर्षभित्र ६१ जिल्ला सदरमुकामलाई मात्र यस्तो सञ्जालमा जोड्न सक्ने योजना अघि बढाएको छ। सरकारले मध्यपहाडी र हुलाकी राजमार्गमा अप्टिकल फाइबर बिछ्याउने घोषणा गरिसक्यो। तर, दुवै राजमार्गका कतिपय स्थानमा ट्रयाकसमेत खुलेको छैन। जहाँ जमिनमुनि गाडेर मात्र होइन तार टाँगेरसमेत अप्टिकल फाइबर विस्तार गर्न सम्भव छैन। गुणस्तरीय टेलिफोन र उच्च गतिको इन्टरनेट सेवाका लागि सरकारले बर्सेनि अप्टिकल फाइबर सञ्जाल विस्तारको घोषणा गर्छ। तर, घोषणाअनुसार काम अघि बढ्न नसक्दा तेह्रौं योजनाको लक्ष्य जस्तै बर्सेनिका घोषणा अधुरै रहने गरेका छन्। मोबाइल फोन बोक्ने र त्यसमा इन्टरनेट चलाउने उपभोक्ताको संख्या तीव्र रूपमा बढिरहेको छ। उपभोक्तालाई उच्चतम सेवा दिन आवश्यक पूर्वाधार बनिनसक्दा उनीहरूले गुणस्तरहीन सेवामा आफ्नो खल्ती भने रित्याइरहेका छन्। इन्टरनेट प्रयोगकर्ता बढ्दै जाँदा त्यसको गुणस्तर राम्रो बनाउन अप्टिकल फाइबरमार्फत सेवा सञ्चालन गर्नुपर्ने हुन्छ। तर, मुलुकका २६ जिल्ला अझै पनि अप्टिकल फाइबरको सञ्जालमा नजोडिएकाले उच्च गतिको इन्टरनेट धेरैका लागि सपना मात्र भएको छ। ‘ब्रोडब्यान्ड नीति २०७१’ ले आगामी दुई वर्षभित्र मुलुकका ४५ प्रतिशत घरघुरीमा कम्तीमा ५ सय १२ किलोबाइट प्रतिसेकेन्ड (केबीपीएस) गतिको इन्टरनेट पुर्‍याउने लक्ष्य राखेको छ। सबै जिल्लालाई अप्टिकल फाइबरले नजोडी लक्ष्य पूरा नहुने निश्चित छ। ‘इन्टरनेटको गुणस्तर मेन्टेन गर्न अप्टिकल फाइबरको विकल्प छैन,’ सूचना प्रविधिविज्ञ मनोहर भट्टराई भन्छन्, ‘तर, अहिलेकै अवस्थामा मुलुकभर अप्टिकल फाइबर पुर्‍याइउन त्यति सजिलो छैन।’ भट्टराई आगामी वर्षभित्रै थप २३ जिल्ला सदरमुकामलाई अप्टिकल फाइबरबाट जोड्ने सरकारी योजनालाई ‘महत्त्वाकांक्षी’ भएको बताउँछन्। ‘अहिलेकै गतिमा एक वर्षभित्र २३ जिल्ला सदरमुकाम जोड्ने योजना त्यति सजिलो छैन,’ उनले भने, ‘एकदमै तीव्र गतिमा काम भएमा पनि अझै करिब दुई वर्ष लाग्न सक्छ।’ source:http://www.ekantipur.com



प्रतिक्रियाहरु