एक खुट्टाले साइकल चलाउँदै रारा हिँडेका साइकलयात्री सुर्खेतमा

जेठ ८- एक खुट्टाले साइकल चलाउने साहसिक साइकलयात्री यामलाल रसाइली सुर्खेत आइपुगेका छन्। कर्णाली प्रदेश सरकारले घोषणा गरेको पर्यटन वर्ष २०७५ लाई सफल पार्न र प्रचार प्रसारमा सहयोग गर्न साइकल यात्रा गर्न लागोको उनले बताए। साथै अपांगहरू पनि सांग जस्तै अवसर पाएको खण्डमा काम गर्न सक्छन् भन्ने देखाउन मुगुको रारा ताल सम्मको सायकल यात्रा तय गरेको रसाइलीले बताए। २०५९ साल फागुन २६ गते मेची महाकाली साइकल यात्रा गरेका रसाइलीले मुगु कर्णाली प्रदेशको उत्कृष्ट पर्यटकीय गन्तव्य भएकोले सरकारको पर्यटनसम्बन्धी अभियानलाई साथ दिन राराताल जान लागेको पनि बताए। वैशाख १ मा प्रधानमन्त्री केपी शर्मा ओलीले रारामै केही विद्यार्थीलाई भर्ना गरेको, तर त्यहीका ७ वर्षीय पूर्णबहादुर कुलाल (जसको शारीरिक अपांगता छ) विद्यालय जान नसकेको मिडियामार्फत सुनेपछि अपांगता भएकालाई पनि सरकारले नागरिक ठान्नोस् र सेवा सुविधा तथा अवसर देओस् भन्ने विषयमा ध्यानाकर्षण गराउनु पनि आफ्नो उद्देश्य रहेको उनले बताए। कैलालीको लम्कीमा सिलाई-कटाई व्यवसाय गर्दै आएका रसाइलीले ४ वर्षको छँदा नै खुट्टा गुमाएका थिए। जेठ ४ मा राराका लागि लम्कीबाट साइकलयात्रा सुरु गरेका थिए। उनी लम्कीबाट सुर्खेत ३ दिनमा आइपुगेको हुन्। रारा पुगेर फर्कन कम्तिमा पनि १८ दिन लाग्ने उनको भनाइ छ। सुर्खेतमा रहुञ्जेल होटल व्यवसायी संघ सुर्खेतका अध्यक्ष तर्कबहादुर शाहीले उनको खर्च व्याेहोर्ने भएका छन्। यसैबीच कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले साइकलयात्री रसाइलीलाई प्रदेश सरकारको तर्फबाट सम्मान पनि गरेका छन्। अपांग भएर पनि कर्णाली सरकारको पर्यटन योजनामा सहयोग पुर्‍याएकाले सम्मान गरेको मुख्यमन्त्री शाहीले बताए।



प्रतिक्रियाहरु




सम्बन्धित शीर्षकहरु