पोखरीमा डुबेर तीन बालकको ज्यान गयाे

झापा – भद्रपुर नगरपालिका २ काे कमलधापमा निर्माणाधीन पोखरीमा डुबेर तीन बालकको ज्यान गएपछि गाउँ नै शोकमा डुबेको छ । पाेखरीमा डुबेर ज्यान गुमाउनेमा भद्रपुर २ का अनिल तामाङका १० वर्षीय छोरा अङ्कुश, त्यही ठाउँका कमला थामीका दुई छोरा १५ वर्षीय करण र १२ वर्षीय अर्जुन रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता राकेश थापाले जानकारी दिनुभयो ।

बुधबार दिउँसो घरबाट खेल्न निस्किएका अङ्कुश अबेरसम्म घर नआएपछि खोजतलास गर्ने क्रममा राति ७ बजे पोखरीमा डुबेर मृतावस्थामा फेला परेका थिए । उनीसँगै बेपत्ता भएका करण र अर्जुनको खोजी गर्ने क्रममा बुधबार त्यही पोखरीभित्र गाडिएको अवस्थामा भेटिएका थिए । दुवै बालकको शव निकालिएको प्रवक्ता थापाले बताउनुभयो । त्याे पोखरीमा माछा मार्न र पौडी खेल्न तीनै जना बालक सँगै गएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

पोखरीमा डुबेर एकै गाउँका तीन बालकले ज्यान गएपछि त्याे क्षेत्र तनावग्रस्त बनेको छ । पोखरी खन्ने जिम्मा लिएको निर्माण कम्पनीको लापर्वाहीले खाल्डो दलदलमा परिणत भएको भन्दै स्थानीयवासी आक्रोशित भएका छन् । मृतक अङ्कुश एसियन स्टार बोर्डिङ स्कुल र थामी दाजुभाइ सगरमाथा माविमा अध्ययनरत थिए ।

निर्माण कम्पनीले मापदण्ड नअपनाउँदा घटना भएको मृतक बालक अङ्कुशका काका आशिष तामाङले बताउनुभयो । 'भतिजसहित अन्य दुई बालकको मृत्यु भद्रपुर नगरपालिका र निर्माण कम्पनीको चरम लापर्वाहीको कारण भएको हो', उहाँले भन्नुभयो, 'निर्माण कम्पनीले कम्तीमा सुरक्षाको मापदण्ड किन अपनाएन र बर्खाको बेला त्यहाँ कम्पनीले कर्मचारी राख्नु पर्दैन ।'

 

तीन बालकको मृत्युले वडावासी नै शोकमा डुबेको स्थानीय फागु सुब्बाले बताउनुभयो 



प्रतिक्रियाहरु