बागलुङ पहिरो टिपर र एस्काभेटर चालक बेपता

बागलुङ । बागलुङ नगरपालिका–१ निरयघाट नजिक खसेको पहिरोले स्काभेटर, टिपर र ट्याक्टर पुरेको छ ।

गएराति साढे आठ बजे खसेको पहिरोमा परी टिपर चालक निर्मल पुन र ट्याक्टर चालक रोशन नेपाली बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक दीपक रिजालले जानकारी दिए । स्काभेटर चालक भने सम्पर्कमा आएको उनको भनाइ छ ।

पहिरो गएको केहीबेरमै उद्धारका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको टोली परिचालित भएको थियो । निरन्तर पहिरो खसिरहेको र जोखिमयुक्त भूगोल भएकाले मध्यरातसम्म उद्धारको प्रयास गरिए पनि सम्भव हुन सकेको थिएन । सुरक्षाकर्मीले जेनेरेटरबाट बत्ती बालेर रातभर उद्धारको प्रयास गरेका थिए ।

अहिले बिहानैदेखि उद्धारकार्य जारी रहेको प्रहरीले जनाएको छ । घटना भएको लामो समय बितिसक्दासमेत बेपत्ता चालक सम्पर्कमा नआएकाले पहिरोमै पुरिएको आशंका गरिएको वडा सदस्य सूर्य लामिछानेले जानकारी दिए । पुरिएको स्काभेटर निर्माण व्यवसायी विमलेस आचार्य र टिपर पर्वतका हरि घिमिरेको भएको बताइएको छ ।

 
 



प्रतिक्रियाहरु