कोरोना भाइरसका कारण फ्रान्समा एक जनाको मृत्यु

कोरोना भाइरसका कारण फ्रान्समा एकजनाको मृत्यु भएको छ। चीनको हुबेई प्रान्तबाट फ्रान्स पुगेका ८० वर्षीय एक पर्यटकको मृत्यु भएको फ्रान्सका स्वास्थ्यमन्त्री एग्नेस बुजिनले जानकारी दिएका छन्। 

 

चिनियाँ पर्यटक गत १६ जनवरीमा फ्रान्स पुगेका थिए। उनलाई २५  जनवरीमा पेरिसको अस्पतालमा क्वारेन्टाइनमा राखिएको थियो। 

 

कोरोनाबाट चीनबाहिर मृत्यु भएको यो चौथो घटना हो। यसअघि हङकङ, फिलिपिन्स र जापानमा संक्रमितको मृत्यु भएको थियो। फ्रान्समा ११ जना संक्रमित भएको तथ्यांक छ। हुबेईको वुहानबाट फैलिएको कोरोना भाइरसको संक्रमणबाट हालसम्म १६०० भन्दा बढी मानिसको मृत्यु भइससकेको छ भने ६८ हजारभन्दा बढी संक्रमित भएका छन्। 

 

चीनका विदेशमन्त्री वाङ यीले हुबेईको संक्रमण अझै बढी प्रभावकारी रुपमा व्यवस्थित गरिएको र महामारी नियन्त्रणमा आउने संकेत देखिएको जनाएका छन्। जर्मनीको एउटा सुरक्षा सम्मेलनमा सम्बोधन गर्दै उनले शुक्रबारमात्र ८ हजार मानिस संक्रमणमुक्त भएको जानकारी दिए। 



प्रतिक्रियाहरु